बन्द कोठामा ‘केटाकेटी’ भेटिँदा प्रहरीलाई किन टेन्सन ?



‘होटेलमा दुई जोडीलाई रंगेहात पक्राउ।’ ‘होटेलबाट आपत्तिजनक अवस्थामा जोडीहरू पक्राउ।’ ‘अश्लिल गतिविधि गरेको आरोपमा होटेलबाट जोडीहरू पक्राउ।’

नेपालमा होटेल वा रेस्टुराँजन्य समाचारका मुख्य र दोहोरिरहने शीर्षकहरू हुन् यी। खासगरी उदयमान शहर वा पर्यटकीय चलहपहल हुने क्षेत्रबाट यस्ता खबरहरू आउने गर्छन्। व्यावसायिक यौनधन्दा चलाउने अथवा शरीर बेच्नेजस्ता कानूनले बर्जित गरेका विषय त छँदैछन्, त्यसबाहेक बयस्क युवा युवती र प्रेमी प्रेमिकाहरू पक्राउ परेका घटना पनि अपराधसरह प्रहरीले सार्वजनिक गर्छ।

आफ्नो कामबाट चर्चा बटुल्न यस्ता घटना प्रहरीले बाहिर ल्याउने गरेको संगठनकै सदस्यहरू बताउँछन्। सनकको भरमा वारेन्टबिनै होटेलमा ह्वार्र पस्नु र भेटेजति सबैलाई ढोका खोल्न लगाएर अश्लिल गालीगलोज गर्दै अपराधीसरह पक्राउ गर्नु अनि सञ्चारमाध्यमलाई रंगेहात पक्राउ भन्नु प्रहरीको दैनिकीजस्तै बनेको छ। पेशेवर यौनकर्मीहरू नभई आपसी सहमतिमा यौन क्रिडामा रहेका प्रेम जोडीहरूलाई पक्राउ गरेर मुद्दा चलाउँछ, प्रहरीले।

मानव अधिकार तथा व्यक्तिगत र जैविक अनि यौनिक स्वतन्त्रताको पक्षमा वकालत गर्नेहरू भने यस्ता कुराहरूमा आपत्ति जनाउँछन्। आफूले मन पराएको व्यक्तिसँग सार्वजनिक स्थलमा वा होटेल तथा लजहरूमा हुनु अपराध नहुने उनीहरूको तर्क छ।

आखिर किन उमेर पुगेका बयस्क युवायुवतीलाई होटेलको कोठामा भेट्दा आपत्तिजनक अवस्थामा भेटेको भनिन्छ ?

बयस्क युवा युवती कोठामा भेटिँदैमा आपत्तिजनक अवस्था भन्न नमिल्ने मानवशास्त्री सम्झना वाग्ले भट्टराई बताउँछिन्। ‘हामीले धेरै प्रकारका अधिकार तथा व्यक्तिगत अधिकारका कुराहरू सुनेका छौं तर होटेलको कोठामा भेटिएका जोडीहरूलाई भने हामी आपत्तिजनक अवस्थामा भेटिएको भन्छौं’ भट्टराई भन्छिन्, ‘कानूनले पनि यसलाई आपत्तिजनक अवस्थामा भन्ने व्याख्या गरेको छैन तर प्रचलनमा भने आपत्तिजनक नै भन्ने सुनिन्छ।’

मेरो शरीर मेरो अधिकार र महिलाले बाबुबिना पनि बच्चा राख्ने कानूनी अधिकारसम्मको बहसमा नेपाली समाज पुगेका बेला प्रहरीले बन्द होटेल कोठामा भेटिएका प्रेमजोडीलाई धरपकड गर्नु गैरकानूनी र अमानवीय व्यवहार भएको अधिकारकर्मीहरूको भनाइ छ।

आफूले मन पराएको व्यक्तिसँग सार्वजनिक स्थल वा होटेल तथा लजहरूमा सँगै हुनुलाई अपराध मान्न नहुने अधिकारकर्मीहरू बताउँछन्।

 

किन भनिन्छ आपत्तिजनक ?

कानूनमा बयस्क युवा युवतीलाई होटेलमा भेटिँदा आपत्तिजनक अवस्थामा भेटिएको भन्ने व्यवस्था छैन। रुढीवादी सामाजिक मान्यताका यसो भन्ने गरिएको जानकारहरू बताउँछन्। नेपाली समान संक्रमणकालीन अवस्थामा भएकाले यस्ता कुराहरूलाई आपत्तिजनक भनिएको मानवशास्त्री भट्टराई बताउँछिन्।

‘हाम्रो युवा जमातको चेतनास्तर निक्कै माथि पुगेको छ तर समाजको चेतनाको वृत्त पुरानै छ,’ भट्टराई भन्छिन्,’त्यसैको काररणले पनि यसलाई आपत्तिजनक भनिएको हो। व्यक्तिगत अधिकार र स्वतन्त्रता अनि समाजको धरातलबीच अहिलेको पुस्ता छ।’

प्रहरी भने बयस्क युवायुवती यौन क्रिडाका लागि होटेल तथा लजमा जाने भएकाले यस्ता कुरालाई आपत्तिजनक अवस्था भन्ने बताउँछ। यो भनाइमा सबै क्षेत्रका प्रहरी अधिकारीको एकमत छ। समाजशास्त्री भट्टराई भने समाज विकासको क्रमलाई कसैले रोक्न नहुने तर्क गर्छिन्। वर्तमान यथार्थ र नयाँ पुस्ताको इच्छा र आकांक्षाबीच तालमेल मिलेको दिन यस्ता कुराहरू आपत्तिजनक नहुने भट्टराई बताउँछिन्।

‘यही हाम्रो समाज हो, जसले पहिले केटाकेटी हात समाएर हिँड्दा वा छोरीले छोटा लुगा लगाएर हिँड्दा कुरा काट्थ्यो,’ भट्टराई भन्छिन्,’तर, आज त्यही समाज हात समाएर हिँड्न मात्रै होइन, अंकमाल गर्दा पनि पचाउँछ। त्यही समाज जसले आज छोरीले हाफपेन्ट लाउँदा पनि पचाउँछ। अहिलेको माया प्रेम जोडीलाई होटेलमा भेट्दा आपत्तिजनक भन्ने कुरा पनि विस्तारै स्वीकार्य हुँदै जान्छ।’

मुद्दा किन कमजोर हुन्छ ?

प्रहरी र समाचारमा उल्लेख हुने ‘आपत्तिजनक अवस्थामा भेटिएकाहरूुको मुद्दा सधैं कमजोर हुने पाइएको छ। देशका थुप्रै शहरमा व्यावसायिक यौनधन्दा नगर्ने तर आफ्नो इच्छाले होटेल र लजमा बस्नेहरूमा सार्वजनिक मुद्दा नै चलाइने गरेको छ।

‘बयस्कलाई होटेल वा लजमा भेटेमा वा सहमतिमा यौन सम्पर्क गरेको कुरामा कानूनको नाममा सजाय दिनेभन्दा सम्झाइबुझाइ गर्नु राम्रो हो।’

बयस्क जोडीहरूले आफूले चाहेको व्यक्तिसँग बसेको वा यौनजन्य क्रियाकलाप गरेमा कस्तो सजाय दिने भन्ने प्रस्ट व्यवस्था नभएकाले सार्वजनिक मुद्दा चलाउने गरिएको अधिवक्ता निराजन ओझा बताउँछन्। उनका अनुसार मुलुकी ऐनको जबरजस्ती करणीको महल १ मा यौनजन्य गतिविधिबारे कारवाही र सजायको व्यवस्था छ।

जसमा महिलाको मन्जुरीबिना गरिने करणीलाई अपराध मानिन्छ। तर, अधिवक्ता ओझा इच्छाले गरिने यौन सम्पर्कबारेमा कारवाहीको कुनै कानूनी आधार नहुने बताउँछन्। ‘यदि मञ्जुरीबिना गरिएको यौनलाई कानूनले बर्जित गरेको छ भने मञ्जुरीमा गरेको यौन सम्पर्कलाई गैरकानूनी मान्न सकिन्न,’ अधिवक्ता ओझा भन्छन्, ‘करणीको मुद्दा कमजोर हुने भएकाले यस्तो अवस्थामा सार्वजनिक मुद्दा चलाउने गरिएको छ।’

होटेलमा भेटिएका प्रेम जोडीहरूलाई लगाइने सार्वजनिक मुद्दा पनि कमजोर हुने सुनसरीका पूर्वन्यायाधिवक्ता भरतमणि रिजाल बताउँछन्। सार्वजनिक स्थलमा हुलहुज्जत गर्ने, शान्ति खलबल्याउने, अश्लिलता फैलाउने तथा सरकारी सेवकको काममा बाधा(व्यवधानमा ल्याउनेजस्ता कसुरमा सार्वजनिक मुद्दा लाग्ने गर्छन्।

केही सार्वजनिक अपराध (सजाय) ऐन २०२७ को दफा २ मा रहेको सार्वजनिक मुद्दा पनि बलियो नहुने भएपछि होटेल तथा लजमा भेटिने जोडीहरूलाई बलियो कारवाही नहुने कानूनका जानकारहरू बताउँछन्। प्रहरीले पक्राउ गरेको केही समय हिरासतमा लिने सार्वजनिक अपराधको मुद्दा दर्ता गराएर धरौटीमा छुट्ने प्रचलन रहिआएको कानून व्यवसायी राजन ओझाको अनुभव छ।

‘सहमतिमा यौन सम्पर्क गर्नेहरूले सार्वजनिक शान्ति भंग गरेको वा सामाजिक शैलीमा विचलन ल्याएको भनिन्छ भने यो संसारमा मुख्य आतंक यौन नै हुनुपर्ने हो,’ अधिवक्ता ओझा भन्छन्,’त्यसैले यस्ता आरोपमा मुद्दा चलाउनुभन्दा पहिले मान्छेका गाँस, बास र कपाससँगै सहवास गर्ने जैविक अधिकार छ भन्ने सबैले बुझ्नुपर्छ तर सबैले त्यो बुझ्ने भन्दैमा साँच्चीकै अश्लिलता फैलाउने गरी युवापुस्ता पनि लाग्नु हुँदैन।’

 

सजाय होइन, सल्लाह दिनुपर्छ

बेला-बेलामा पक्राउ परेका प्रेमजोडीहरूलाई कानूनी तरिकाले तर्साउने भन्दा पनि सल्लाह दिनुपर्ने मानवशास्त्री भट्टराई बताउँछिन् । ‘कोठामा पक्राउ परेका बयस्क प्रेमजोडीहरूलाई कारवाही गर्न हाम्रो कानून छैन र स्वीकार गर्ने पक्षमा हाम्रो समाज छैन,’ भट्टराई भन्छिन्, ‘त्यसैले यस्ता जोडीहरूलाई विभिन्न असान्दर्भिक कानूनी कुराहरूमा अल्झाउनेभन्दा सल्लाह र शिक्षाको जरुरी छ।’

अधिवक्ता निराजन ओझा पनि आजका युवालाई सल्लाह दिएमा यस्ता कुरा आफैं हल हुने बताउँछन्। ‘हामीले सचेत हुने र कारवाही गर्ने भनेको देहव्यापार गर्ने वा यौनधन्दा चलाउने गिरोहका लागि हो। हामीले बाल यौन दुराचार, अप्राकृतिक मैथुन, हाडनाता करणी वा पशु करणीमा कानूनमा व्यवस्था भएबमोजिम कारवाही र खबरदारी गर्ने हो,’ ओझा भन्छन्, ‘तर, बयस्कलाई होटेल वा लजमा भेटेमा वा सहमतिमा यौन सम्पर्क गरेको कुरामा कानूनको नाममा सजाय दिनेभन्दा सम्झाइबुझाइ गर्नु राम्रो हो।’

 

  • विराट अनुपम,  ईटहरी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्