५ नम्बर प्रदेशका मन्त्री र मुख्यमन्त्रीले दशैं भत्ता नपाउने



बुटवल । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले चाडपर्व वापत एक महिनाको तलब सुविधा नपाउने भएका छन् । सरकारले १३ महिनाको तलव सुविधा सहितको विधेयक संसदमा दर्ता गरे पनि सांसदहरुले चाडपर्व वापतको एक महिनाको तलब पाउने बुँदा हटाएका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समितिले चाडपर्व वापतको सुविधा हटाउँदै सदनमा पेश गरेको प्रविदेन सोमबार पारित भएको हो । विधेयक पारित भएसँगै प्रदेश ५ का मुख्यमन्त्री, मन्त्री तथा सांसद कसैले पनि चाडपर्व वापतको तलब नपाउने भएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले मन्त्रीले मात्रै चाडपर्व मनाउने हो ? भन्दै प्रश्न गरेका थिए । प्रदेश सभाका सदस्यहरुको सुविधासम्बन्धी विधेयकमा भने सांसदहरूलाई चाडपर्व वापतको भत्ता दिने व्यवस्था छैन ।

सोमबारको बैठकमा बोल्दै प्रदेश सांसद तुल्सी चौधरीले देशैभरी सकारात्मक सन्देश दिन मुख्यमन्त्री तथा मन्त्रीहरुको चाडपर्व खर्च हटाएको बताए । ‘

जनताको काम गर्ने जनप्रतिनिधिले चाडपर्व खर्च लिनुहुँदैन भन्ने सन्देश दिन खोजिएको हो’, उनले भने । संसद बैठकले मुख्यमन्त्री तथा मन्त्री, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै मुख्मन्त्री तथा मन्त्री एवं सांसद्हरूले तलब लिने बाटो खुलेको छ । वैशाखमा पेश भएका तीन विधेयक संसदले पारित गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्