प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत



काठमाण्डौ १९ साउन । । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसको बहिस्कारका बचि समितिले दुई तिहाई बहुमतका आधारमा जोशीलाई अस्वीकृत गरेको हो ।

संसदीय सुनुवाईको इतिहासमा समितिबाट अस्वीकृत हुने जोशी पहिलो व्यक्ति बनेका छन् । २०६३ को अन्तरिम संविधानबाट संसदीय सुनुवाईको व्यवस्था ल्याइएको थियो ।

त्यसयता सर्वोच्चका न्यायाधीश, सबै संवैधानिक अंगका पदाधिकारी र राजदूत अनुमोदित भए । जोशी स्वयंम पनि समितिबाट अनुमोदित भएर नै सर्वोच्चको न्यायाधीश बनेका थिए । उनी हाल कामु प्रधानन्यायाधीश समेत हुन् ।

तर, प्रधानन्यायाधीश बन्न सकेनन् । संसदीय सुनुवाई समितिले आचरण, इमान्दारिता, कार्यक्षमता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठाएर जोशीलाई अस्वीकृत गर्ने निर्णय गरेको छ ।

 

१५ सांसद रहेको समितिमा जोशीको विपक्षमा १० मत परेको थियो । सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् ।

प्रमुख विपक्षी कांग्रेसले मतदान प्रक्रियामा भाग नलिई बैठक बहिस्कार गर्‍यो भने जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका लक्ष्मणलाल कर्ण मतदानमा भाग लिएनन् ।

बैठकमा जोशीलाई अस्वीकृत र स्वीकृत गर्नुपर्छ भन्ने दुबै पक्षले लिखित रुपमै मत राखेका थिए ।

नेकपाका सांसदहरुले जोशीलाई अस्वीकृत गर्नुपर्ने पाँच कारण पेश गरेका थिए भने कांग्रेसका सांसदहरुले पनि अस्वीकृत गर्नुपर्ने कारण र आधार नभएको दाबी गरे ।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दुई तिहाईको बलमा अदालतमाथि हस्तक्षेप भएको बताएका छन् ।

समितिको निर्णय सुनवाई समितिको इतिहासमा खराब नजिर बनेको भन्दै उनले भने, ‘संविधान र स्वतन्त्र न्यायपालिकामाथि जुन किसिमको हस्तक्षेप भएको छ, यसले व्यक्तिको न्यायिक स्वतन्त्रमात्र होइन, हाम्र सबै अधिकार कटौती हुनेछ ।’
हेर्नुस् कांग्रेस सांसदको लिखित भनाइ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्