श्रीमानले घर निकाला गरेपछि बाख्राको खोरमा बास



सन्तोष अधिकारी ,

गोरखा : चाउरी परेका गाला। अगाडिका दुईवटाबाहेक सबै दाँत झरेका। उमेर ७० टेकेकी। साथी भन्नु बाख्राका पाठाहरू।  तीन वर्ष पूरा भयो उनी बाख्राको खोरमै पकाएर, खाएर तिनै बाख्राको साथमा सुत्न थालेको। उनी आफूलाई खान लाउन तिनै बाख्राको माउ पाठा बिक्री गरेर जसोतसो पुगेकै छ। चार भारी मकै आउने बारी छ उनको। हातगोडा गल्दै गएपछि अहिले मकै फल्ने बारी पनि बाँझै छ।  उनको उमेर १३ वर्षको हुँदो हो। भारतको दिल्लीमा जन्मेकी रूपा परियारलाई आफ्नै बाआमाले केटो खोजेर उतै दिल्लीबाटै गोरखा नगरपालिका– ४ फिनामका नेप्टे दमैसँग विवाह गरिदिए।

बिहे गरेलगत्तै श्रीमानसँगै उनकै घर आएकी रूपालाई नेप्टेले माया पनि गरेकै थिए।  उनको कोखबाट तीनवटा सन्तति पनि भए तर दुईवटाले रूपालाई छाडेर कहिल्यै साथमा नहुने गरी गए। एउटी छोरी अहिले पनि छन्। उनको पनि विवाह भइसकेको छ। दुवै जना सँगै हुँदाहुँदै नोकरीकै लागि भन्दै नेप्टे फेरि भारत पसे। श्रीमती रूपालाई छाडेर गएको ४० वर्षपछि मात्रै नेप्टे घर फर्किए।  ‘मैले यसै दुःख पाएकी थिएँ’, उनले दुःख मान्दै भनिन्, ‘भूकम्पले म बस्दै आएको घर नै धरापमा पारिदियो।’

भूकम्प गएको खबर पाएपछि नेप्टेले घर फर्केर बुढीलाई बस्न भन्दै सानो घर पनि बनाइदिएर भारत गएका थिए। फेरि भारत गएका नेप्टे त्यसपछि भने कहिल्यै भारत नजाने भन्दै घर आए। उनी घर आएपछि रूपा भने खुसीले गदगद थिइन्। ‘अब बुढोसँगै हुने भो भनेर मन खुसी भएको थियो’, उनले भनिन्।
रूपाको त्यो खुसी नेप्टे आएको दिनबाट अर्काे दिनसम्म पनि टिक्न पाएन। नेप्टेले उल्टै रूपालाई घरबाट निकालिदिए। ‘त्यही घरमा बसिरहेकी थिएँ, मलाई त यहाँ नबस् भन्दै निकालिदिए’, आँखाभरि आँसु बनाउँदै रूपाले भनिन्, ‘त्यैही दिनदेखि म भूकम्पले लडाउन ठिक्क पारेको झुप्रोमा छु। यो झुप्रोको छानोबाट अगेनामै पानी चुहिन्छ। पहिले यो झुप्रोमा बाख्रा थुन्दै आ’की थिएँ, अहिले आफैँ थुनिनुपर्‍यो।’  उनी दिउँसो गाउँमाथिको जंगलमा बाख्रा गोठालो पनि जान्छिन्।

दसैँलाई खर्च जोहो गर्ने भनेर पालेका तीनवटा बाख्रा चरनमा जाँदै बाघले खाइदिएपछि उनी अहिले निराश छन्। ‘साढे आठ हजार दिएका थिए, दसैँमा धेरै पाइन्छ भनेर दिइनँ’, उनले भनिन्, ‘उल्टै बाघले खाइदियो।’ अब उनको साथमा १० वटा बाख्रापाठा छन्।  रूपाका साथीहरू नै बाख्राहरू हुन्।

‘मेरा साथी नै यिनै बाख्रा हुन्’, उनले भनिन्, ‘यिनै बाख्रासँगै सुत्यो। ओछ्यानको छेउछाउ त यिनै बाख्राको मुतले भिज्छ। सुकायो फेरि त्यही ओछ्यायो, ओढ्यो, यस्तै छ।’ आफ्ना बाआमासँग हुँदा खासै दुःख नभोगेकी रूपा नेप्टेसँग आएदेखि दुखै दुःखमा आफ्नो जीवन समाहित गर्दै आइरहेकी छन्। ‘बाआमासँग हुँदा यस्तो दुःख कहिल्यै भोगिएन। अहिले यस्तोमा फँसियो’, उनी भन्छिन्, ‘भाग्यमा जे लेख्या छ, भोग्नै पर्‍यो।’ उनको खर्चको जोहो उनले पाउने वृद्धभत्ताबाट पनि हुँदै आएको छ।
श्रीमान् नेप्टे रूपालाई देखिसहँदैनन्। ‘

छुट्टिएर बसेको छु’, रूपाको पानी चुहनी बाससँगै जोडिएर रहेको कोठामा बस्ने नेप्टे भन्छन्, ‘भगवानको खेला, जस्तो लेखेको छ, उस्तै भोग्ने हो।’ नेप्टे पनि उमेरले ८० काटिसकेका छन्। ने

प्टेका भाइ बुहारीका अनुुसार रूपाबाहेक उनले आठवटी श्रीमती ल्याएका थिए। कुनै श्रीमतीबाट जायजन्म हुँदै भएनन् भने कुनै छोराछोरीसहित अन्यत्रै भागेको रूपाले पनि बताइन्।  रूपा बस्ने कोठा अँध्यारो, बाख्राको बड्काैँला, पिसाबले फोहोर बनेको छ। तर सँगै टाँसिएको कोठामा रहेका नेप्टे भने सफा चिटिक्क परेको उज्यालोमा बसिरहेका छन्।

उनीहरू दुवैका दुईवटा भान्छा छन्। एउटाकोमा मीठो मसिनो पाके पनि अर्काेले चाख्न पाउँदैनन्। ‘आआफ्नो चुह्लो छ’, नेप्टेले भने, ‘म मेरै सुरले पकाउँछु, खान्छु। ऊ उसकै सुरले खान्छे।’ रूपालाई आफ्नी देउरानीले खुब माया गर्छिन्। ‘मलाई देउरानीले त यहाँ नबस, कुन दिन यो लड्छ र पुरिन्छ्यौ भन्दै उसकैमा बस्न बोलाउँछे’, रूपाले भनिन्, ‘तर यी बाख्राहरूलाई छाडेर राती म सधैँ कता जानु? कहिलेकाहीँ जान्छु। कहिले उतै एक डल्लो खान दिन्छन्।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्