दाङमा किन फस्टाएन होमस्टे ? लाखौँको लगानी खेर जाँदै



भूपेन्द्रप्रकाश ओली
दाङ, ३० असार । जिल्लाका ३ स्थानमा रहेका होमस्टेहरू बन्द हुने अवस्थामा पुगेका छन् । यस क्षेत्रमा रहेका कला, संस्कृति, संस्कारको पहिचान तथा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले सुरु गरिएका होमस्टेबाट अपेक्षित परिणाम हासिल हुन नसकेको हो ।
जिल्लाको रामपुर गाविसमा रहेको सवारीकोटमा मगर नमुना ग्राम, सौडियार गाविसको सिसहनियामा रहेको थारू नमुना ग्राम र देउखुरी गढवा गाविसमा रहेको अवधि नमुना ग्राममा होमस्टे सञ्चालनमा ल्याइएको थियो ।
भौतिक पूर्वाधारको कमी, होमस्टे सञ्चालनसँग सम्बन्धित ज्ञानको अभावलगायतका कारणले ती होमस्टे विस्थापित हुने अवस्थामा पुगेको जिल्ला पर्यटन विकास समितिका सदस्य गोविन्द आचार्यले जानकारी दिए । ‘सबैभन्दा त व्यावसायिक मानसिकताको अभाव देखियो,’ उनले भने ‘होमस्टेजस्तो सामुदायिक प्रयासमा मात्र सफल हुन सक्ने व्यवसाय सञ्चालन गर्दा राज्यको मुख ताक्ने बानीले समस्या पैदा भएको हो ।’
सदरमुकाम घोराहीदेखि ११ किलोमिटर मात्र टाढा रहेको सवारीकोटमा होमस्टेका लागि आवश्यक आधारभूत सुविधा खानेपानी, बिजुली, स्वास्थय चौकीको अभाव छ । होमस्टेका लागि न्यूनतम ५ घर आवश्यक पर्नेमा हाल त्यहाँ एउटा घर त्यो पनि भाडामा लिएर होमस्टे सञ्चालन भइरहेको छ ।
मगरग्राम सामुदायिक होमस्टे सञ्चालन समितिका अध्यक्ष कृष्ण बुढा मगरले भने राज्यले आवश्यक सहयोग नगर्दा आफूहरू समस्यामा परेको दाबी गरे । ‘जोत्न नजान्नेलाई हलो थमाएजस्तै भएको छ,’ उनले भने, ‘होमस्टे सञ्चालनसँग सम्बन्धित आवश्यक ज्ञान तथा तालिम नहुँदा हामी यो व्यवसायमा सफल हुन नसकेका हो ।’
लाखौँको लगानी खेर जाँदै
सरकारी, गैरसरकारी तथा अन्य निकायबाट समेत गरी ती होमस्टे सञ्चालनका लागि लाखौँको लगानी भइसकेको छ । तीनवटै स्थानमा ग्राम विकासका लागि करोड बढीको लगानी भइसकेको छ । यस्तै, गढवास्थित अवधि ग्रामबाहेक अन्य २ स्थानमा होमस्टे सञ्चालनका लागि प्रत्येकलाई १० देखि १५ लाखबराबरको लगानी भइसकेको छ ।
साविक जिल्ला विकास समिति, पर्यटन कार्यालय भैरहवा र पर्यटन मन्त्रालय, गैरसरकारी निकाय तथा व्यक्तिगत रूपमा यस्तो सहयोग गरिएको हो । भौतिक पूर्वाधार, आवास, सडक, अवलोकन भ्रमणजस्ता कार्यमा यसरी लगानी गरिएको थियो । यद्यपि लगानी गरिएअनुरूप काम अघि बढ्न सकेको छैन ।
साविक सौडियार गाविसमा रहेका नमुना थारू ग्राममा माछापालनको उद्देश्य राखी पोखरी निर्माण गरिने भनिएको स्थानमा असार महिनामा पनि पानीको थोपा भेटिँदैन । होमस्टेका लागि तयार पारिएका नमुना घरहरूमा पनि धुलो जमेको छ । ‘व्यावसायिक चेतनाको अभावमा होमस्टे सञ्चालकहरूले लगानीको सदुपयोग गर्न सकेनन्,’ स्थानीय विकास अधिकारी रमेश गौतमले भने, ‘आफ्नो सामुदायिक व्यवसायको उन्नतिका लागि समुदाय आफैँ पनि लगानी गर्न उत्सुक हुनुपर्नेमा त्यस्तो भएको पाइएन ।’

छैन आगामी योजना
उल्लेख्य प्रगति नदेखिएपछि जिल्लामा क्रियाशील पर्यटन विकास समीतिले होमस्टे सञ्चालनका चालू वर्षका लागि कुनै पनि योजना तयार पारेको छैन । यद्यपि अन्तिम प्रयासस्वरूप ३ वटै होमस्टे सञ्चालन समितिलाई १ लाखका दरले बजेट छुट्याइएको पर्यटन विकास समीतिका सदस्य आचार्यले जानकारी दिए ।
स्थानीय होमस्टे सञ्चालन समितिसँग पनि कुनै ठोस योजना भएको पाइएको छैन । यद्यपि बजेट तथा तालिमको व्यवस्था गरिए आफूहरूले आगामी दिनमा पनि होमस्टे सञ्चालन कार्यलाई जारी राख्ने थारू नमुना ग्राम होमस्टे सञ्चालन समितिका अध्यक्ष वेजलाल चौधरीले जानकारी दिए । सुरुवाती चरणमा जिल्लामा रहेको जातीय, भाषिक, विविधता र पर्यटकीय सौन्दर्यको उपलब्धताले होमस्टे व्यवसाय अत्यन्त सफल हुने अपेक्षा गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्