बलिदान दिन तयार ,नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरु देशको रक्षा र जनताको अधिकारको लागि बलिदान दिन तयार रहेको बताएका छन् ।

मंगलबार साँझ साढे सात बजे चोभारबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डले अदालत परिसरमा बाक्लो मात्रामा उपस्थित भएका संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वाधीनता र जनताको अधिकार प्राप्तिका लागि आफू बलिदानी भावसाथ एकीकृत जनक्रान्तिको यात्रामा रहेकोले हत्कडी लगाउनु ठूलो कुरा नभएको बताए ।

नेकपाले उठाएको राष्ट्रिय स्वाधीनता र जनताको राज्य व्यवस्थाको एजेण्डाप्रति बढ्दो जनलहर देखेर आत्तिएको ‘कम्युनिस्ट सरकार’ले क्रान्तिकारी कम्युनिस्ट र तिनका नेताहरुलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाए ।

बुधबार दिउँसो साढे ३ बजे अनुसन्धानका लागि भन्दै म्याद थप गर्न बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा परिसरमा पुगेका संचारकर्मीहरुसँग प्रकाण्डले सो प्रतिक्रिया दिए ।

आफूसहित तीनलाई अपराधीलाई झैं व्यवहार गरेर प्रहरीले गिरफ्तार गरेको र पछि आँखामा कालो पट्टी बाँधेर र हत्काडी लगाएर रातभर मानसिक र शारीरिक यातना दिएको जानकारी दिए । प्रहरी प्रशासनको व्यवहारबाट ‘लोकतान्त्रिक सरकार’मा मानवअधिकार मेटिसकेको अनुभूत भएको पनि बताए । प्रकाण्डसँगै स्टाफ हरिचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।

आचार्य र श्रेष्ठलाई रातभर पाइप र बुटले पिटेको बताए । पिटाईबाट आचार्य बिरामी परेका छन् । सरकारले दमनले नेपाली जनताको परिवर्तन र क्रान्तिमा कुनै फरक नपर्ने र बरु प्रतिरोध बढेर जाने भनाई प्रकाण्डको छ ।

देशभक्त नागिरकसँग अब सरकारी दमनको प्रतिवाद गर्नुको विकल्प नरहेको प्रस्ट पारे । गाह्रोसाह्रो कस्तो छ भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘अावश्यक परेमा देश र जनताका निम्ति बलिदान दिनुपरे नि तयार छु’ प्रतिक्रिया दिए ।

उनले वर्तमान राजनीतिक प्रक्रिया र संविधानप्रति नेकपा असहमत रहेको र वैचारिक प्रतिस्पर्धा गरिरहेको कुरा स्पष्टसँग राखे । साथै २००७ सालदेखि ०६२-६३ सालसम्म नेपाली जनता आफ्नो राज्यव्यवस्था र राजनीतिक अधिकारका लागि संघर्ष गर्दै आइरहेको र त्यो सीमित दलालहरुका कारण उल्टो दिशामा पुगेकोले आफूहरुले अधुरा क्रान्ति पूरा गर्ने अभिभारा बोकेर राजनीति गरिरहेको बताए ।

‘हामीले भ्रष्टाचारी, माफिया, घुसखोर, तस्कर, गुण्डाविरुद्ध र राष्ट्रियताको पक्षमा संघर्ष गरेको देख्न नसकेर सरकारले हाम्रो हातमा हाल्ने काम गरेको छ, यो कुरा फैला अब नेपाली जनताले गर्नेछन्’ प्रकाण्डले भने । उनलले भने ‘देश र जनताको सच्चा एजेण्डा बोक्ने पार्टी भनेको नेकपा मात्र हो भन्ने कुरा जनताले राम्ररी बुझेका छन् ।’

जनताको अधिकार र स्वाधीनताबारे संघर्ष गरिरहेकै कारण सरकारले नेकपाका नेता कार्यकर्तालाई दमन, झुठा मुद्दा र हत्कडी लगाउने काम गरेको उनको भनाई थियो । आजै तीनै जनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको छ । हत्कडीसहित अदालतमा उपस्थित भएको प्रकाण्डलाई दर्जनौं संचारकर्मीले घेरेर प्रश्न गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्