कर समस्या समाधान गर्न दुई समिति गठन



संघीय सरकारले तीनवटै तहका सरकारले लगाएको कर अध्ययनका लागि दुई समिति बनाएको छ । जनताको ढाड सेकिने गरी अव्यावहारिक कर लगाएको चौतर्फी गुनासो आएपछि अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारले समिति बनाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा एउटा समिति बनेको छ । यो समतिले तीनै तहले लगाएको कर दोहोरो परे–नपरेको, संविधान र कानुनअनुसार भए–नभएको तथा करको क्षेत्राधिकार मिचिएको सम्बन्धमा अध्ययन गर्नेछ । समितिमा राजस्वसचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल सदस्य छन् ।

यसैगरी उद्योगी व्यवसायीमा दोहोरो कर भार परे–नपरेको, निजी क्षेत्रले करमा भोगेका समस्याजस्ता विषय अध्ययन गरी प्रतिवेदन तयार गर्न राजस्व व्यवस्थापन महाशाखा प्रमुख हरिशरण पुडासैनीको नेतृत्वमा अर्को समिति बनेको छ । यो समितिमा निजी क्षेत्रका प्रतिनिधिसमेत छन् ।

करसम्बन्धी अन्तरसरकारी अस्पष्टता, असमझदारी तथा समन्वयका विषयमा अध्ययन गर्न र निजी क्षेत्रमा दोहोरो करको गुनासोबारे छानबिन गर्न दुई समिति गठन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । समितिले करमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले बताए ।

कर विवादले संघीयता खतरामा पर्दैन

 

 

अर्थमन्त्री डा. खतिवडाले करबारे विवाद र अन्योल बढेको मौकाको फाइदा उठाउँदै संघीयता नचाहनेले करकै कारण संघीयतामा खतरा बढेको कुरा गरिएको बताए । तर, कर विवादले संघीयता खतरामा नपर्ने उनको भनाइ छ । ‘करमा विषयमा सामान्य विवाद भएका छन्, नागरिकमा दुविधा बढेको छ,’ उनले भने, ‘हिजो संघीयताको विपक्षमा रहेकाहरूले करका दरहरू बढेको भन्दै मौकाको फाइदा उठाउने गरी हिलोपानीमा माछा मार्न नखोजे हुन्छ ।’ सरकारले वित्त आयोगका पदाधिकारी छिटै नियुक्त गर्ने पनि खतिवडाले बताए ।

करको समस्या छिटै समाधान हुन्छ
डा. युवराज खतिवडा, अर्थमन्त्री
संविधान र कानुनले सबै तहलाई करको अधिकार दिएको छ, सोहीअनुसार कर उठाउने र खर्च गर्ने हो । तर, संविधान र कानुनले दिएको क्षेत्राधिकारभन्दा बाहिर गएर कर उठाइएको छ भने समाधान गर्नुपर्छ, हुन्छ । गरिबीको रेखामुनि रहेका जनतालाई कर प्रणालीले उन्मुक्ति दिनुपर्छ, आम्दानीअनुसार कर उठाउनुपर्छ ।

 

 

नया पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्