१८ औँ एशियाड : भलिबलमा नेपाल पराजित



काठमाडौँ, ६ भदौ (रासस) : जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ।  भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन्।

नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए। हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक भट्टले बताए। “चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो, हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो ।”

 

एशियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूद (एशियाड) मा सहभागिता जनाएको हो ।

नेपालले भलिबलमा पछिल्लो पटक सन् १९८४ मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाडमा सहभागी भएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज, गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक छन् । प्रशिक्षकमा जगदीश भट्ट, लेस्ली दि जोन्जे र व्यवस्थापकमा भरतबहादुर शाह छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्