नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड



काठमाडाैं भदौ ७-तीन महिनाअघि केन्द्रमा एकीकरण गरेको नेकपाले अधिकांश जिल्लाको नेतृत्व पनि अनौपचारिक रूपमा टुंगो लगाएको छ।

पार्टीले एकीकरणको प्रस्ताव तयार गर्न गठन गरेका कार्यदलले केन्द्रमा धमाधम प्रतिवेदन पठाइरहेका छन् । प्रतिवेदनअनुसार झन्डै ६५ वटा जिल्लामा कुन पक्षको नेतृत्व रहने भन्ने टुंगो लागिसकेको छ। तर कार्यदलले टुंग्याएका नेतृत्व र नामका विषयमा जिल्ला–जिल्लामा असन्तुष्टि रहेकाले केन्द्रले हेरफेर गर्न सक्ने छ।

कार्यदललाई बिहीबारसम्म प्रस्ताव पठाउने समय दिइएको नेकपा कार्यालयको व्यवस्थापन हेरिरहेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। पूर्वएमाले र पूर्वमाओवादी पृष्ठभूमिबाट एकता गर्दा जुन जिल्लामा जसको बहुलता थियो, त्यसैको नेतृत्व हुने गरी मिलाइएको छ । जिल्लाको अध्यक्ष र सचिव पदमा एकअर्कालाई बाँडफाँड गरिएको छ।

एकता कार्यदलमा संलग्न नेताहरूका अनुसार प्रदेश १ का ताप्लेजुङ, इलाम, झापा, मोरङ, धनकुटा तेह्रथुम, सुनसरी, भोजपुर र पाँचथर एमाले र संखुवासभा र खोटाङ माओवादीले लिने करिब सहमति भएको छ । ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबन्डा मिलाउने क्रम जारी छ।

प्रदेश २ मा एमालेले सप्तरी, धनुषा, सर्लाही र पर्सा एवं माओवादीले महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व लिने अनौपचारिक सहमति छ । प्रदेश ३ का काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा एमाले र चितवन, नुवाकोट, काभ्रे, रामेछाप माओवादीको भागमा पारिएको छ।

काठमाडौंमा दुई दलका तर्फबाट नेतृत्वमा कुरा मिले पनि व्यक्तिका विषयमा भने अझै विवाद छ । काठमाडौंमा जातीय तथा अध्यक्ष र सचिवलाई मिलाएर लैजानुपर्ने माग भएको छ। गण्डकी प्रदेशमा दुई दलबीच कुरा नमिलेकाले केन्द्रमा पनि मिलाउने गरी सिफारिस गरिएको छ । प्रदेश ५ मा गुल्मी, पाल्पा, रूपन्देही, प्यूठान, दाङ, अर्घाखाँची एमाले र नवलपरासी पश्चिम, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व माओवादीले लिनेछ।

कर्णाली प्रदेशमा एमालेले दैलेख, सुर्खेत, जुम्ला र डोल्पा एवं माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व लिनेछन् । मुगु र कालिकोटमा सहमति हुन सकेको छैन। प्रदेश ७ मा एमालेले कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी एवं माओवादीले कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङको नेतृत्व लिनेछ । भ्रातृ संगठनहरू भने कसले कुन–कुन लिने टुंगो लागिसकेको छैन।

कान्तिपुरबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्