उद्योगी–व्यवसायीलाई राज्यले कज्याउँदैन, प्रोत्साहन गर्छ : प्रचण्ड



काठमाडौं, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी व्यवसायीलाई कज्याउने सरकारको कुनै मनसाय नभएको बताएका छन् ।

उनले राज्यले देशका उद्योगी व्यवसायीलाई कज्याउने नभई प्रोत्साहन गर्ने नीति लिनु पर्ने र लिइरहेको समेत दावी गरेका छन् । राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी हेर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए ।

बिहीबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आठौँ वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले उद्योगी व्यवसायीलाई प्रोत्साहन गरेपछि मात्र देशको आर्थिक विकास हुनसक्ने धारणा राखे । उनले भने, ‘उद्योगीलाई प्रोत्साहन नगरेसम्म राज्यको विकास हुँदैन । विकासका निम्ति चाहिने नीति नियम बनाउनु पर्छ त्यो आवश्यक छ तर उद्योगी व्यवासायीको मार्कालाई पनि बुझ्नुपर्छ ।’

प्रचण्डले अहिले उद्योगी व्यवासायी मर्कामा परेको गुनासो आइरहेको भन्दै यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने समेत प्रतिवद्धता जनाएका छन् । राज्य नियन्त्रणकारी र दमनकारी भयो भने लक्ष्य पूरा नहुने भन्दै उनले यस विषयमा सरकारसँग कुरा गर्ने बताए ।

जनताको चाहना र अपेक्षा ठूलो तर त्यो अनुसार राज्यले केही गर्न नसकेको प्रचण्डको गुनासो थियो । ‘व्यवसायीहरु ठग हुन् भन्ने अवस्था सिर्जना गर्न हुँदैन,’ उनले थपे । राज्यले आफ्नो कर्तव्य पूरा गरेपछि उद्योगी व्यवसायीले पनि आफ्नो दायित्व पूरा गर्नेतर्फ समेत हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्