बर्तमान सरकार पूर्णत असफल भयो- प्रकाशमान सिंह



काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णत असफल भएको दावी गरेका छन्। काँग्रेस नेता सिंहले जनतालाई छुने खालको कुनै पनि उल्लेखनीय कदम चाल्न नसकेको उल्लेख गर्दै वर्तमान सरकार पूर्णत असफल भएको प्रतिक्रिया दिएका हुन्।

आईतबार स्वर्गीय मंगलादेवी सिंहको २२ को स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमतको बलियो सरकारले जनतालाई मारमा पार्नेबाहेक अन्य केही काम गर्न नसकेको भन्दै चर्को आलोचना गरे।

नेता सिंहले सरकारले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाका दोषीलाई छुटाउने प्रयास गरिरहेको आरोप समेत लगाए।

महंगी बढाउने, माईतीघर मण्डलालगायतका क्षेत्रमा निषेधित क्षेत्र तोक्नेलगायतका नचाहिने काम गरेर सरकारले जनताको विश्वास समेत गुमाएको नेता सिंहको दावी छ। काँग्रेस नेता सिंहले सरकारले जनताको दुःख कष्टमा साथ दिने प्रयास समेत नगरेको दावी पनि गरे।

त्यस अवसरमा उनले स्वर्गीय मंगलादेवी सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन, महिला अधिकारको आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाको पनि स्मरण गरे।

विक्रम संवत १९९७ सालमा राणा विरोधी आन्दोलनमा सरिक भएका स्वर्गीय मंगलादेवी सिंहकै नेतृत्वमा २००४ सालमा नेपालमा पहिलो पटक संगठित महिलाहरुको संगठन नेपाल महिला संघको स्थापना भएको थियो। नेपालमा महिलालाई पनि पुरुष सरह अधिकार दिनुपर्ने मान्यता स्थापित गराउन स्वर्गीय मंगलादेवी सिंहले गर्नु भएको प्रयासको स्मरण हुँदै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्