म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा, रक्षामन्त्री पोखरेलको स्वागत



काठमाडौं, १२ भदौं । म्यानमारका राष्ट्रपति विन मिन्ट आज (मंगलबार) दिउँसो काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

उनी सम्मेलन शुरु हुनु दुई दिन अगावै नेपाल आएका हुन् । बिमस्टेक सम्मेलन बिहीबार शुरु हुँदैछ । सम्मेलनमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटानलगायतका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् । म्यानमारका राष्ट्रपति मिन्टले १४ गते राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् भने १६ गते लुम्बिनी भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको चार वर्षअघिबाट नेपाल अध्यक्ष राष्ट्र हो । बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४ मा भएको थियो। दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल हो । कार्यतालिकाअनुसार नेपालमा चौथो सम्मेलन नेपालले गर्न लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्