कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या



दाङ,१४भदौ । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ ।

छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए । ‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्‍यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने,मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज महरा पक्राउ परे ।’

तर, प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ । ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन् । यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु । गरिबको पक्षमा प्रहरीले कहिल्यै काम गरेन,’ उनले भने । मदन र भरतले प्रहरीसँगको बयानमा कविताले आफ्नै जुत्ताको तुना जोडेर रूखमा झुन्डिएर आत्महत्या गरेको र आफूहरू फसिने डरले रूखबाट शव झिकेर गाडेको बयान दिएका छन् ।

पक्राउपछि अभियुक्त मदनले नै ३१ असारमा किशोरीको शव गाडेको स्थान देखाएका थिए । कृष्णपुर नगरपालिका–२ वाणीका २१ वर्षीय मदन र २१ वर्षका भरतविरुद्ध २४ साउनमा अदालतमा मुद्दा दायर भएको थियो । २८ साउनमा पहिलो थुनछेक आदेशबाट मदन र भरत पुर्पक्षका लागि थुनामा छन् ।

कक्षा १२ मा अध्ययन गर्ने कविता २६ असारमा किताब किन्न भनेर घरबाट निस्केकी थिइन् । सोही दिनदेखि बेपत्ता कविताको ३१ असारमा कृष्णपुरकै लालझाडी जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानले कविताको हत्या २६ असारमै भएको झलारीका इन्चार्ज प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

१५ दिनमा दुई बालिकाको बलात्कारपछि हत्या
कञ्चनपुरमा १५ दिनको अन्तरमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । २६ असारमा घरबाट किताब किन्न भनेर हिँडेकी कृष्णपुर नगरपालिका– ८ की १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको १५ दिनपछि नै १० साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।

साउनमा मात्रै सात बलात्कार
यस वर्षको साउनमा मात्रै कञ्चनपुरमा बलात्कारका सात घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिलालाई ३० वर्षीय युवक नरेश रानाले जबर्जस्ती बलात्कार गरे । भैँसी चराउन गएकी ती महिलालाई रानाले कोही नभएको मौका छोपी उखुबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसक्रममा महिला कराएपछि स्थानीयले घटनास्थलमै पुगेर रानालाई समाती प्रहरीलाई बुझाएका थिए । प्रहरीले रानाविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।

पुनर्वासमा उक्त घटना सेलाउन नपाउँदै ४ साउनमै ९ वर्षीया बालिका बलात्कृत भइन् । पुनर्वास–३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको वेला बालिका बलात्कार गरेका थिए । अन्सारीविरुद्ध पनि कञ्चनपुर प्रहरीले जबर्जस्ती करणीमा मुद्दा चलाएको छ ।

१० साउनमा शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया महिलालाई ३२ वर्षीय बिन्तीराम चौधरीले बलात्कार गरे । घरमै सुतिरहेकै अवस्थामा महिलालाई बलात्कार गरी चौधरी भागेका थिए । प्रहरीमा महिलाले दिएको उजुरीका आधारमा चौधरी पक्राउ परेपछि अहिले जबर्जस्ती करणीमा मुद्दा चलाएको छ ।

१६ साउनमा पुनर्वासमै १६ वर्षीया बालिकालाई २६ वर्षीय विकास बुढाले जबर्जस्ती बलात्कार गरे । पुनर्वास–२ की बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै युवकले उखुबारीमा लगेर जबर्जस्ती गरेका थिए । बालिकाले दिएको बयानका आधारमा बुढा पक्राउ परेका थिए । बुढाविरुद्ध जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ ।

१९ साउनमा भीमदत्त नगरपालिका–१० जिमुवाकी पाँच वर्षीया बालिकालाई ४० वर्षका लक्ष्मण कोलीले बलात्कार प्रयास गरे । बालिकाकै घरमा गएका कोलीले घरमा कोही नभएको मौका छोपी ती टुहुरी नाबालिकामाथि बलात्कारको प्रयास गर्न खोज्दा बालिका चिच्याइन् । बाहिर स्थानीयले हल्ला गरेपछि भागेका कोलीलाई मकैबारीमा लुकेर बसेको अवस्थामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । उनीविरुद्ध पनि जबर्जस्ती करणअन्तर्गत मुद्दा चलाइएको छ ।

कञ्चनपुरमा बालकसमेत बलात्कारको सिकार भएका छन् । २४ साउनमा कञ्चनपुरको वेदकोटका साढे ५ वर्षका बालक ६६ वर्षीय पुरुषबाटै बलात्कारको सिकार भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्