मृत्युको ‘कारखाना’ बन्दै वैदेशिक रोजगार, ४५ दिनमै १ सय ६ शव आए



काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेश जानु अधिकांश नेपालीका लागि बाध्यता हो। परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने लक्षका साथ दिनहुँ १५ सयको हाराहारीमा नेपाली कामदार विदेशिने गर्दछन्। तर पैसा कमाउन विदेश गएका कतिपय भने काठको बाकसमा आँफै भरिएर आउँछन्।

नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने हो भने यस्ता कफिन देख्नु नौलो लाग्दैन। तर, सरोकारवालाहरुले बेलैमा ध्यान नपुर्याउँदा कफिनभित्र सजिएर नेपाल फर्किएकाहरुको जीवन संघर्षको कथा तथा परिवारको कारुणिक अवस्था देख्नु सुन्नु पर्ने वातावरण भने घट्न सकेको छैन।

यसैबीच बिहीबार एकैदिन एकै समय ५ वटा कफिन नेपाल भित्रिएका छन्। बिहीबार भित्रिएका ५ जनाकै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।

स्याङ्जाका दिपक बहादुर दर्जी कुवेत, रोल्पाका लडक बहादुर महरा कतार, कास्कीका तिर्थ बहादुर विक कुवेत, मोरङका सुर्यप्रसाद सुवेदी युएई र सप्तरीका सरवान कुमार चौधारी मलेसिया को शव नेपाल ल्याइएको बोर्डले जानकारी दिएको छ।

एकै समयमा कुवेतबाट दर्जी र विकको शव नेपाल आएको छ।

विभिन्न गन्तव्यका लागि विमानस्थल पुगेका यात्रुको बीचमा विदेशमा ज्यान गुमाएका कामदारको शव बुझ्ने आफन्तजन दैनिक विमानस्थल पुग्ने गरेका छन्। विमानस्थलको शव प्रतिक्षालय भित्र दिनहुँ विदेशमा ज्यान गुमाएका कामदारका आफन्तजनको भीड लाग्न गरेको छ। सरदरमा दैनिक २ देखि ३ वटा शव नेपाल आउने गरेको सरकारी तंथ्याकमा उल्लेख छ।

४५ दिनमा १ सय ६ शव आए

चालु आर्थिक वर्ष २०७५/०७६ सुरु भएको ४५ दिनमा वैदेशिक रोजगारीमा गएका १ सय २ पुरुष र ४ महिला गरी १ सय ६ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ।

यो अवधिमा सबैभन्दा धेरै साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डको तंथ्याकमा उल्लेख छ। साउदीमा ३५ जना, मलेसियामा ३० जना, कतारमा २३ जना, युएईमा ७ जना, दक्षिण कोरियामा ३ जना र जापानमा १ जनाले रोजगारीमा क्रममा ज्यान गुमाएका छन्।

गत आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया र अन्य देश पुगेका ९ सयभन्दा बढी नेपालीको मृत्यु भएको थियो। यो अवधिमा सबैभन्दा धेरै मलेसियामा नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ।
विदेशमा ज्यान गुमाएका श्रमिकको शवलाई नेपाल ल्याउँदा लाग्ने खर्च सरकारले ब्योहोर्ने गरेको छ।

एक दशकमा ६७ सयको मृत्यु

बितेको १० वर्षको अवधिमा विभिन्न देशमा रोजगारीका लागि गएका ६ हजार ७ सय ५ जना नेपाली कामदारको मृत्यु भएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग छ। तीमध्ये १ सय ४८ जना महिला छन्।

उक्त तथ्यांकमा सबैभन्दा बढी मलेसियामा २ हजार ४ सय ४२, साउदी अरबमा १ हजार ८ सय ४२, कतारमा १ हजार ३ सय २३, यूएईमा ५ सय १९ र कुवेतमा २ सय १२ जनाको मृत्यु भएको थियो। बाँकी श्रमिकको अन्य मुलुकमा मृत्यु भएको हो।

कामका दौरानमा हुने दुर्घटना, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपाली श्रमिकले विदेशमा ज्यान गुमाउने गरेका छन्। आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीवनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदासमेत नेपाली कामदार मृत्युको शिकार हुनु परेको बोर्ड बताउँछ।

वैदेशिक रोजगारीमा जानुअघि त्यस देशको नियम–कानुनबारे पर्याप्त जानकारी नहुँदा पनि श्रमिकले ज्यान गुमाउने गरेका छन्। त्यसमध्ये ट्राफिक नियम पनि एक हो। रोजगारीमा गएका कामदारले त्यो देशको ट्राफिक नियमबारे राम्रो सूचना नपाउँदा सडक दुर्घटनामा पनि ज्यान गुमाउने गरेको पाइन्छ। बोर्डका अनुसार यो तथ्यांक वर्षेनी बढ्दो क्रममा छ।

जथाभावी बाटो काट्ने, तीव्र गतिमा गाडी कुदाउने जस्ता कारण धेरैको ज्यान गएको विभिन्न अध्ययनले देखाएका छन्। यसरी ज्यान गुमाउने कामदारका परिवारलाई सरकारले क्षतिपूर्तिवापत कुल १७ लाख रुपैयाँ दिने गरेको छ।

  • रमेश भारती/नेपाललाईभ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्