समृद्धि र विकास सरकारको एजेण्डा – मन्त्री महासेठ



विराटनगर, १९ भदौ   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।  निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताउनुभयो । यही भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सङ्कल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको पाँच वर्षभित्रमा छ देखि आठ हजार किलोमिटर सडक निर्माण गर्ने मन्त्री महासेठले जानकारी दिनुभयो ।


अगामी संसदीय निर्वाचन अघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको मन्त्री महासेठले बताउनुभयो । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने उहाँको भनाइ थियो । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले जानकारी दिनुभयो । उहाँले निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट होइन, निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायी मात्र होइन, सम्बन्धित कर्मचारीलाई समेत कारवाही गरिने स्पष्ट पार्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्