फोटोसहितको मतदाता नामावलीमा नाम ६६९ स्थानीय तहमा, म्याद साउन ३२ गतेसम्म



सैघाली खबर

साउन ४

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम साउन १६ देखि ३२ गतेसम्म स्थानीय तहमा सञ्चालन हुने भएको छ । आयोगको हिजोको बैठकले यही साउन १६ देखि ३२ गतेसम्म मुलुकका ६६९ स्थानीय तह तथा ७५ वटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट त्यस्तो मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको हो । आयोगको पछिल्लो निर्णयअनुसार ७५ वटै जिल्ला सदरमुकामस्थित स्थानीय तहका मतदाताले भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सेवा प्राप्त गर्न सक्नेछन् । बाह्य जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता र जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता भने आगामी निर्वाचनको मिति घोषणा नभएसम्म निरन्तर सञ्चालन हुनेछन् । तर स्थानीय तहमा भने यही साउन ३२ गतेसम्म मात्र सञ्चालन हुने आयोगले जनाएको छ । रोजगारी वा पढाइका सिलसिलामा आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय सच्याउन राजनीतिक दलले दबाब दिएपछि आयोगले म्याद थप र अन्य जिल्लामा पनि दर्ता गर्न पाउने व्यवस्था गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्