मुक्त हलियालाई सामाजिक सशक्तीकरण गर्नुपर्छ



कञ्चनपुर, २१ भदौ  ‘मुक्त हलियाको न्यायिक पुनःस्थापना, हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ आज भीमदत्तनगरमा १० औँ मुक्त हलिया दिवस मनाइएको छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा प्रदेश नं ७ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले दशकअघि मुक्त भएर पनि कष्टकर जीवन बिताउँदै आएका मुक्त हलिया परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र आवासमा सुनिश्चित गरिने बताउनुभयो ।

 

न्यायोचितरुपमा पुनःस्थापना गर्नका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरी कार्य अगाडि बढाइनेछ , उहाँले भन्नुभयो, “समावेश हुनबाट छुटेका मुक्त हलियको लगत लिनका लागि आवश्यक गृहकार्य अगाडि बढाउछौँ ।”
मन्त्री चौधरीले मुक्त हलियाका महिलालाई स्वरोजगार बनाउनका लागि आयमूलक र सीपमूलकजस्ता विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

मुक्त हलियाका अगुवा हरि श्रीपाइलीले आर्थिक, सामाजिक, न्यायिक र राजनीतिक क्षेत्रमा मुक्त हलियाको सहभागिता हुन नसकेको दुःख व्यक्त गर्दै पुनःस्थापना प्याकेजमा वृद्धि गरी जीवन जिउने तरिकाले जग्गा, रोजगारी र आवासको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष सिवी लुहारले हलिया मुक्तिको घोषणा गरिए पनि त्यसको शीघ्र र दिगो व्यवस्थापन हुन नसक्दा हलियाको अवस्थामा सुधार आउन नसकेको जानकारी दिनुभयो ।

कञ्चनपुरमा प्रमाणीकणमा परेका दुई हजार ५१६ घरघुरीमध्ये एक हजार ५९४ जना हलियाले परिचयपत्र पाएका छन् । जसमा क वर्गका २९७, ख वर्गका ६७४, ग वर्गका ५१ र घ वर्गका ५७२ परिवार छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्