भारतीय सेनाका पूर्वगोर्खाहरूको पेन्सन रोकियो, कारण यस्तो



सैघाली खबर, २४ भदौ ।

काठमाडौंबाट पेन्सन बुझ्ने भारतीय सेनाका पूर्वगोर्खाहरूलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यसले झन्डै ५० हजार पेन्सनर मर्कामा परेका छन् ।भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरूको गुनासो छ ।

‘यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं,’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैंकको किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ । कतिले त डेरा भाडा नै तिर्न नसक्ने अवस्था आएको छ ।’

थापाका अनुसार नेपालमा ५ लाख हाराहारी पूर्वभारतीय सैनिक छन् । धरान, पोखरा र काठमाडौंस्थित तीन क्याम्प र अस्थायी क्याम्पबाट उनीहरूले पेन्सन पाउँछन् । पोखरा र धरान क्याम्पले भने सेप्टेम्बर १ मै यस महिनाको पेन्सन दिइसकेका छन् । पेन्सनरहरूले बैंक खातामा रकम नआएपछि बुझ्न जाँदा क्याम्पले जनशक्ति कमी भएकाले तीनरतीन महिनामा दिने नीति लागू गरिएको भन्दै होल्ड गरिदिएको हो ।

जबकि भारतीय सरकारले प्रत्येक महिनाको १ तारिखमै पाउने गरी रकम विनियोजन गर्ने गरेको छ । क्याम्पका भारतीय अधिकारीले भारत सरकारको नयाँ व्यवस्थाअनुसार पेन्सन वितरण हुन लागेको बताए । ‘अब हामी नयाँ व्यवस्थामा जाँदैछौं जसअनुसार पेन्सन एकै पटक भुक्तानी हुनेछ र त्यो तीन–तीन महिनामा हुनेछ,’ काठमाडौं क्याम्प प्रमुखसमेत रहेका भारतीय दूतावासका सुरक्षा सल्लाहकार अविनेश चाम्बियलले भने, ‘अर्को फेरिएको नीति के छ भने हामी अब कसैलाई नगद पैसा दिँदैनौं, सबैको पेन्सन सम्बन्धित बैंक खातामै पठाइदिन्छौं ।’

पोखरा र धरानमा पनि अब काठमाडौंकै व्यवस्था लागू हुने दाबी चाम्बियलको छ । ‘हामीसँग पर्याप्त जनशक्ति नभएकाले यस्तो गर्नुपरेको हो,’ उनले भने, ‘भारतमा भने पूर्वगोर्खाले पनि महिनैपिच्छे पेन्सन पाउनेछन् ।’ एउटै ब्यारेकमा एउटै कानुनअनुसार ज्यानको बाजी लगाएर पकाएको पेन्सनमा आफूहरूलाई मात्रै भेदभाव भएको भन्दै पेन्सनरहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्