चीन र पाकिस्तानबीच आर्थिक मार्गबारे छलफल



चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी)बारे छलफल भएको छ।

चीनका विदेश मन्त्री वाङ यी र पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच  इस्लामावादमा सीपिइसीबारे शनिबार वार्ता भएको पाकिस्तानले जनाएको छ। वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका बिषयमा छलफल भएको हो।

तीन दिने पाकिस्तान भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पूरानो अडान दोहोर्‍याउँदै चीनले पाकिस्तानसँग दुई देशबीचको व्यापक रणनीतिक सहकार्यका सहमत भएको पाकिस्तानी समाचार संस्था जियो न्यूजले जनाएको छ

पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले भने- चिनियाँ विदेशमन्त्री वाङले पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति दरिलो समर्थन रहने बताउनुभएको छ।

चीन–पाकिस्तान आर्थिक करिडोर, आर्थिक सहकार्य, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान गर्ने बिषयमा छलफल केन्द्रीत भएको फैसलले  जानकारी दिए।

भ्रमणका क्रममा वाङले नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनमा हुने अन्तर्राष्ट्रिय बजारबाट आयात गरिएका सामानहरूको प्रदर्शनीमा सहभागीताका लागि निम्तो दिएका छन्।

पाकिस्तानमा नयाँ सरकार गठन भएपछि चिनियाँ उच्च पदस्थ अधिकारीसहितको यो पहिलो भ्रमण दल हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्