सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ्ग–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास



ल्हासा, २४ भदौ । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरुङ्ग–रसुवागढी नाका पुल पुनःनिर्माण र महावाणिज्य दुतावास भवनको शिलान्यास गर्नुभएको छ । सभामुख महराले आज (आइतबार) ल्हासास्थित एक विशेष समारोहका बीच नेपाल–चीन सिमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलहरुको पुनःनिर्माण तथा महावाणिज्य दुतावास भवनको शिलान्यास गर्नुभएको हो । सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको शिलान्यास समारोहमा तिब्बत जनकांग्रेसका अध्यक्षसहितका पधाधिकारीहरुको सहभागिता थियो ।

२०७२ बैशाख १२ गतेको महाभूकम्पका कारण नेपाल–चीन जोड्ने दुवै पुलहरु क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।

शिलन्यास कार्यक्रममा सभामुख महराको प्रतिनिधिमण्डल, ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ल्हासास्थित शिलन्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मको लागि भाडामा लिएको हो ।


पुल पुननिर्माण तथा दुतावास भवन शिलन्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दुतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको बताउनुभएको छ ।
ल्हासास्थित नेपाली महावाणिज्य दुतावासको शिलान्यास तथा तातोपानी र रसुवागढी मैत्री पुल पुनःनिर्माण परियोजना शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो

‘ल्हासामा रहेको वाणिज्य दुतावास नेपालको प्राचीन वाणिज्य दुतावासहरुमध्येको एक हो,’ सभामुख महराले भन्नुभयो, ‘यो वाणिज्य दुतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहनेछ ।’ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मैत्री पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै सभामुख महराले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भुगोल, संस्कृति, धर्म र परम्पराले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सम्बन्ध रहँदै आएको बताउँदै सभामुख महराले साँस्कृतिक समानता र जीवनशैलीले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।
दुबै देशका नागरिकले बौद्ध धर्मको अनुसरण गर्नु साँस्कृतिक, धार्मिक सम्बन्धको ज्वलन्त उदाहरण भएको चर्चा गर्नुहुँदै सभामुख महराले ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदानप्रदान र राजनीतिक अन्तरक्रिया नेपाल–चीन सम्बन्धका गतिशील पक्षहरु भएको बताउनुभयो ।पहिलो पटक आफूले तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दाको क्षण स्मरण गर्नुहुँदै सभामुख महराले तिब्बतको भौतिक विकासबाट आफू धेरै प्रभावित भएको बताउनुभयो ।

‘पहिलोपटक तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दा यसले विगत केही दशकको समयमा गरेको परिवर्तनलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाएको थिएँ’, उहाँले भन्नुभयो, ‘म विशेष गरी यहाँको भौतिक विकासबाट धेरै प्रभावित भएको छु । यो परिवर्तनको लागि जिम्मेवार, दूरदर्शी नेतृत्व र मेहनती जनतालाई धन्यवाद दिन चाहन्छु ।

तिब्बत प्राचीनकालदेखि नै चीन प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको चर्चा गर्नुहुँदै सभामुख महराले सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
‘सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेका छौं, उहाँले भन्नुभयो, ‘चीनको स्वशासित क्षेत्र तिब्बत हाम्रो घनिष्ठ मित्र, असल छिमेकी र शुभचिन्तक हो । नेपालको बाह्य सम्बन्धको पाटोमा तिब्बतको महत्वपूर्ण स्थान रहेको छ ।’ तिब्बत चीनको एक भाग हो भन्ने कुरामा नेपाल सरकार अडिग रही एक चीन नीतिमा पूर्ण प्रतिवद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रको हित विपरित प्रयोग हुन नदिने कुरामा सजग रहेको बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्