फेक रेस्क्युको असरः धमाधम बुकिङ रद्द गर्दै पर्यटक



सैघाली खबर, २६ भदौ ।

एक फ्रेन्च नागरिक पोखरामा ट्रेकिङ एजेन्सी चलाइरहेका डम्बर केसीको सम्पर्कमा आए । केसीलाई इमेल गर्दै सोधे, ‘म नेपाल ट्रेकिङका लागि आउन चाहन्छु, कुन-कुन ठाउँ ठीक छ र त्यसका लागि के-के गर्नुपर्छ ?’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका पूर्वअध्यक्ष समेत रहेका केसीले पदयात्राका सम्भावित क्षेत्र र प्रक्रियाबारे जानकारी गराए । त्यसको केही दिनपछि उताबाट इमेल आयो, ‘म अझै पनि ट्रेकिङका लागि आउन इच्छुक छु तर, केही भइहाले रेस्क्यु विश्वासिलो छैन भन्ने सुनें । तत्काललाई नआउने भएँ ।’

नेपालका ट्रेकिङ एजेन्सीले हेलिकोप्टर कम्पनी, अस्पतालसँग मिलेर फेक रेस्क्यू गर्ने, इन्सुरेन्सबाट रकम असुल्ने घटना बाहिरिएसँगै पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सीहरुलाई यस्ता इमेल थुप्रै आउन थालेका छन् । फेक रेस्क्यूका कारण नेपाल आउन चाहने पर्यटकको इन्सुरेन्स नै गर्न डराउने स्थिति सिर्जना भएको ट्रेकिङ व्यवसायी दीपक अधिकारीले बताए । ‘फेक रेस्क्यूले इस्सुरेन्स कम्पनीले इन्सुरेन्स गर्नै डराइरहेका छन् । युरोपियन पर्यटक नेपाल आउनै हिच्किचाइरहेका छन्,’ अधिकारीले भने ।

इन्सुरेन्स कम्पनीहरुबाट ठूलो रकम असुल्न फेक रेस्क्यू गर्नेलाई सरकारले कारबाही नगर्दा नेपालको अन्तर्राष्ट्रियस्तरमै गलत सन्देश गएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । फेक हेली रेस्क्यूलाई पोखराका व्यवसायीले पर्यटन क्षेत्रमा लागेको कालो धब्बा भनेका छन् ।सरकारले गरेको अध्ययनले पनि फेक रेस्क्यू धन्दा फस्टाएको देखाएको छ । तर, दोषीहरुलाई कारबाही गरेर नेपाल सुरक्षित छ भनेर अन्तर्राष्ट्रियस्तरमा सन्देश प्रवाह गर्न बिलम्व भएको गुनासो पोखरेली व्यवसायीहरुको छ ।

‘३ वर्षदेखि फेक रेस्क्यूको घटना सार्वजनिक भइरहेका छन् तर, सरकारले दोषीउपर कारबाही नगर्दा नेपालमा अमेरिकन, युरोपियन पर्यटनको आगमनमा ठूलो असर पारेको छ,’ पर्यटन व्यवसायी गणेश भट्टराईले भने । विश्वमै चर्चा कमाएको उच्च हिमाली ट्रेकिङ पदयात्रा थोरङ्लापासमा आउन बुकिङ गरेका स्पेनी पर्यटकले पनि फेक रेस्क्यूलाई देखाएरै यात्रा रद्द गरेको ट्रेकिङ व्यवसायी रामचन्द्र अधिकारीले जानकारी दिए ।

नेपालका इन्सुरेन्स कम्पनीले रेस्क्युका लागि हेली सर्भिस दिन नसक्ने र विदेशी एजेन्सीले फेक रेस्क्यूको कारण इन्सुरेन्स नगरिदिएपछि अन्नपूर्ण क्षेत्रका लागि आएका पर्यटक पनि निराश भएर फर्किएको उनले बताए । अधिकारीका अनुसार धौलागिरि क्षेत्रमा जान बुकिङ गरेका अन्य ७ जना पर्यटकले पनि इन्सुरेन्सकै विषय देखाएर रद्द गर्ने आशय व्यक्त गरेका छन् ।

पोखराका पर्यटन व्यवसायीले फेक हेली रेस्क्यू गर्ने ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीलाई कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएन, एपीएफ लगायतमा नेपालको उच्च हिमाली क्षेत्रमा फेक रेस्क्यू गरी पर्यटकबाट असुली धन्दा चलिरहेको समाचार प्रकाशित भएको थियो । खानामा बिकार पार्ने र रेस्क्यू गरेर इन्सुरेन्स कम्पनीमार्फत मोटो रकम असुल्ने काम ट्रेकिङ एजेन्सी, गाइड, हेलिकोप्टर कम्पनी र अस्पतालका डाक्टरकोसमेत मिलेमतोमा भइरहेको घटना प्रकाशित भएपछि पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको उनीहरुले बताएका छन् ।

उच्च हिमालका कारण नेपाल साहसिक पदयात्राका लागि विश्वमा परिचित छ । नेपाल आउने पर्यटकको ७५ प्रतिशत ट्रेकिङ गर्न आउने व्यवसायी बताउँछन् । पोखरा आउने ६० प्रतिशत विश्वचर्चित अन्नपूर्ण पदयात्रामा जाने गर्छन् । ‘फेक रेस्क्युको असरले पदयात्राका लागि पोखरा आउने पर्यटक घटेकामात्रै छैनन्, धमाधम बुकिङ क्यान्सिल पनि गरिरहेका छन्,’ व्यवसायी डम्मरले भने, ‘यसको छानबिन गर्नेदेखि नेपालमा पदमार्ग सुरक्षित छ भनेर अन्तर्राष्ट्रियस्तरमा सन्देश प्रवाह नगर्नुले सरकारमा रहेका व्यक्ति नै यो धन्दामा छन् कि भन्ने आशंका उब्जाएको छ ।’

नेपाल घुम्न आउने अधिकांश अमेरिकी एवं युरोपेली पर्यटक बीमा गराएर मात्र आउने गर्छन् । उच्च हिमाली क्षेत्रमा जानुअघि व्यक्तिगत बीमा र मेडिकलसहित बीमा गराएर जाने पर्यटकमाथि फेक रेस्क्यु गरेर रकम असुल गर्ने गिरोहले सिंगो नेपालकै पदयात्रामा ठूलो मार पारेको पर्यटन व्यवसायीको भनाइ छ । ‘युरोपियन कतिपय देशमा नेपालको पदयात्रा असुरक्षित रहेको भन्दै कालो सूचीमा छ,’ एक व्यवसायीले भने, ‘नेपालमा हेली रेस्क्युसहितको इन्सुरेन्स गर्न यहाँका एजेन्सीले सक्दैनन् ।’

फेक रेस्क्यू प्रकरणको छानबीन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । जेठ २१ गते मन्त्रालयमा उजुरी परेपछि सरकारले गठन गरेको कार्यदलले दोषी ठहर्‍याएका व्यक्तिलाई कारबाही गर्नुको सट्टा सरकारले संरक्षण गरेको व्यवसायीको आरोप छ । गलत काम गर्नेलाई उल्टै प्रोत्साहन गर्दा नेपालको पर्यटन उद्योग धारासायी हुने अवस्थामा पुगेको पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सोम थापाले बताए ।

अन्तर्राष्ट्रिय इन्सुरेन्स एजेन्सीले नेपालको पदयात्रालाई असुरक्षित भनिरहँदा सरकारका अधिकारी चुप रहनु शंकास्पद रहेको व्यवसायी गोपि भट्टराईले बताए । ‘एकातिर नेपालको पदयात्रा खराब छ भन्ने अन्तर्राष्ट्रियस्तरमा सन्देश गएको छ, अर्कोतिर भएका पदयात्रामा डोजर चलाउने काम भइरहेको छ,’ पर्यटन व्यवसायी भट्टराइले भने ।

व्यवसायीले हिमाली क्षेत्रमा जथाभावी हेलिकोप्टर अवतरणमा रोक लगाउन पनि माग गरेका छन् । हिमाली क्षेत्रमा हेलिकोप्टरमार्फत पर्यटकलाई पुर्‍याउने गर्दा पदयात्रामा ठूलो असर परेको उनीहरुको भनाइ छ । ‘उच्च हिमाली क्षेत्रका सबै ठाउँमा पदयात्रा पुगेको छैन, जहाँ पदयात्रा पुगेको छैन त्यहाँ हेलिकोप्टर अवतरण होस्,’ व्यवसायी केसीले भने । सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने घोषणा गरेको सरकारी लक्ष्य यो तरिकाले पूरा हुन नसक्ने थापाको भनाइ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्