बलात्कारमा मिलापत्र गराउन सांसदकै घरमा छलफल



 काठमाण्डौ २९ भदौ ।  बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ ।

गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको पीडित परिवारको आरोप छ । सो घटना मिलाउन प्रदेश सांसद आजादले आफ्नै घरमा पञ्चायत (स्थानीयको भेला) राखेका थिए । पीडित परिवारका अनुसार सांसद आलमले उजुरी नदिन धम्क्याएर चार दिनसम्म पञ्चायत राखे ।

पञ्चायतले बलात्कारको आरोप लागेका अन्सारीसँग एक लाख ७० हजार क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सो रकमबाट एक लाख २० हजार पीडित परिवारलाई दिने र ५० हजार पञ्चायत बसेका सदस्यले बाँडेर लिने निर्णय गरिएको थियो ।

तर, पञ्चायतको निर्णय चित्त नबुझेपछि पीडित परिवार उजुरी लिएर इलाका प्रहरी कार्यालय गरुडा पुगेका थिए । बालिकाकी आमाले अन्सारीविरुद्ध उजुरी दिएकी छिन् । गत २० भदौमा घरमा कोही नभएको मौका छोपी अन्सारीले बलात्कार गरेको उल्लेख छ ।

उजुरीपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेपछि केही स्थानीयले प्रदर्शन र तोडफोड गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए । घटनालाई प्रभावित पार्न प्रदर्शन गरिएको ओझाको भनाइ छ ।

यता सांसद अब्दुल कलाम आजादले भने बलात्कारको घटना मिलाउने र ढाकछोप गर्ने आफ्नो उद्देश्य नरहेको बताए । गाउँमा भएको घटनाबारे जानकारी लिन मात्र आफूले स्थानीयलाई बोलाएको उनको दाबी छ ।

आठ वर्षकी बालिका पनि बलात्कृत
रौतहटको बिर्तास्थित प्रहरी आवासीय माध्यमिक विद्यालयका एक विद्यार्थीले आठ वर्षीया बालिका बलात्कार गरेका छन् । प्रहरी विद्यालयमा १० कक्षामा पढ्ने ती विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालिका गत २४ भदौमा बलात्कृत भएकी थिइन् । बालिका अभिभावकसँगै भाडाको घरमा बस्थिन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् छलफल गराउने सांसद
मिलापत्रका लागि दबाब दिने प्रदेश सांसद फुलबाबु भनिने अब्दुल कलाम आजाद गत निर्वाचनमा रौतहट क्षेत्र नं. ४ (ख) का सांसद हुन् । उनी निर्वाचनअघिसम्म कांग्रेस राजनीतिमा थिए । तर, टिकट नपाएपछि संघीय समाजवादी फोरमबाट उम्मेदवार भए ।

गढिमाई नगरपालिका– ३ गमरिया बिर्ताका स्थायी बासिन्दा आजाद ०५४ सालमा तत्कालीन गमरिया पर्सा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गणतन्त्र आइसकेपछि उनी केही समय प्रकाश कोइराला समूहमा लागेर हिन्दू राज्यको माग गर्दै हिँडेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्