बञ्चरो प्रहार गरी श्रीमतीको हत्या



कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका-९ टुँडिखेल सिंगापुरका अन्दाजी ४५ वर्षीय चन्द्र पुन मगरले ३५ वर्षीया श्रीमती विमला पुन मगरको  बञ्चरो प्रहार गरी हत्या गरेका छन्।

शुक्रबार राति ७ बजे मदिराको नशामा रहेका मगरले श्रीमतीसँग विवाद हुँदा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

मगरको घर परिवारलाई उद्धृत गर्दै उनले भने, ‘दुवै श्रीमान् श्रीमतीले सँगै मदिरा सेवन गरेपछि विवाद भयो। आवेशमा आएर चन्द्रले श्रीमतीलाई बञ्चरो प्रहार गरे। त्यसपछि भारततर्फ भागेर फरार भए।’ श्रीमतीको हत्या गरेर मगर राति नै भारततर्फ फरार भएको र खोजतलासको कार्य जारी रहेको उनले बताए।

भीमदत्तनगर बजारभन्दा झण्डै ४० किलो मिटर उत्तरतर्फ चुरेको विकटमा बस्ती रहेकाले हत्याबारे प्रहरीले शनिबार बिहान मात्रै जानकारी पाएको छ।

घटनास्थलबाट शव पैदल नै बोकेर १० किलो मिटरको यात्रा तय गर्नुपर्ने अवस्था रहेको छ। १० किलो मिटर पैदल शव ब्रम्हदेव ल्याई त्यहाँबाट शव गाडीमा राखी महाकाली अञ्चल अस्पताल पुरयाइने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्