महिलाको शव फेला



कञ्चनपुर, ३० भदौ  ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ ।

नहरमा अर्ध डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा सम्लग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

“सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धानको कार्य शुरु गरेका छौ” उहाँले भन्नुभयो । सार्कीको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दैलेखको भूर्ति नगरपालिका घर भएका सार्की तरकारी बेच्दै आइएकी थिइन् ।

यसैबीच कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीमा अन्दाजी ५५ वर्षीय भीमलाल शर्मा आज मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घर नजिक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिनुभयो ।

श्रीमतीको हत्या 

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ टुडिखेल सिङ्गापुरका ४५ वर्षीय चन्द्र पुनमगरले ३५ वर्षीया आफ्नै श्रीमती बिमला पुनमगरको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार राति ७ बजे मदिराको नशामा रहेका मगरले श्रीमतीसँग विवाद हुँदा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । मगरको घर परिवारलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “श्रीमान श्रीमतीलेसँगै मदिरा सेवन गरेपछि विवाद भयो । आवेशमा आएर चन्द्रले श्रीमतीलाई बञ्चरो प्रहार गरे ।”

श्रीमतीको हत्या गरेर मगर राति नै भारततर्फ फरार भएको र खोजतलासको कार्य जारी रहेको उहाँले बताउनुभयो । भीमदत्तनगर बजारभन्दा झण्डै ४० किलो मिटर उत्तरतर्फ चुरेको विकटमा बस्ती रहेकाले हत्या बारे प्रहरीले शनिवबार बिहान मात्रै जानकारी पाएको थियो ।

घटना स्थलबाट शव पैदल नै बाकेर १० किलो मिटरको यात्रा तय गर्नुे अवस्था रहेको छ ।

बलात्कारको आरोपमा पक्राउ 

दुई जना छ वर्षका बालिकालाई चकलेट दिई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलडाँडी गाँउपालिका– २ ढकनियाका ५७ वर्षीय राजेन्द्र विष्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

दुई जना बालिकालाई विद्यालयबाट फर्कने क्रममा चकलेट दिएर कोठामा लागि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । भदौ १५ गते विष्टले दुवै जना बालिकामाथि बलात्कार गरेका भएपनि बालिकालाई मार्ने धम्की दिँदा बालिकाले अभिभावकलाई सो कुरा नभनेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताउनुभयो ।

शु्क्रबार बलात्कार भएकामध्ये एक बालिकाले आफ्नी आमालाई बाजेले हामीमाथि अनैतिक कार्य गरेको भनेपछि अभिभावकले विष्ट विरुद्ध इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी गरेका हुन् । मौखिक उजुरीका आधारमा विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

“प्रारम्भीक बयानमा विष्टले दुवै बालिका आफ्ना नातिनी जस्ता भएकाले बलात्कार जस्तो अनैतिक कार्य नगरेको बताएको छ”, प्रहरी निरीक्षक बमले भन्नुभयो । यथार्थ पत्ता लगाउन स्वास्थ्य परीक्षण गरिएको र सोही आधारमा कारवाही प्रकृया अगाडि बढाइने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्