निर्मला हत्याकाण्ड सुनियोजित, सीसीटीभीमा कैद थियो घटना !



सैघाली खबर, ३१ भदौ ।

निर्मला हत्याकाण्ड सुनियोजित भएको तथ्य पुष्टि गर्ने थप अर्काे सन्दर्भको पर्दाफास भएको छ । भीमदत्त नगरपालिकामा हुने ठूला अपराधका घटनाको अनुसन्धानलाई बल पुर्याउन बजार क्षेत्रभरी १६वटा सिसीटीभी क्यामेरा विभिन्न सार्वजनिक स्थलमा जडान गरिएका छन् । ति मध्ये होटल ओपरा र निर्मलाको शव पाइएको स्थल जाने बाटोमा समेत क्यामेरा जडान गरिएको छ ।होटेल ओपेरा अगाडि जडित सीसी क्यामरा ।

१० साउनमा एसपी विष्टका छोरा किरण विष्टले आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित फोटोसुट गरेको भनिएको होटल ओपेराको बाहिरको गतिविधि समेत नियाल्न सक्नेगरी सीसीटीभी क्यामेरा जडान गरिएको छ । तर घटनालाई सुनियोजित हो भन्न मिल्ने गरि भदौ १७ गते देखि नै ति क्यामेरा अचानक विग्रिएको पाइएको छ । जसका कारण घटना कैद भएका सो क्यामेरामा समेत छेडखानी भएको हुनसक्ने अर्काे आशंका उब्जाएको छ । सो क्यामेराको हार्डडिस्कको क्षमता १५ दिनसम्म मात्रै भएकोले त्यसदिनको रेकर्ड मेटिएको प्रहरीले प्रतिकृया दिएको छ । तर, नगरपालिकाले जडान गरेका क्यामेरा अचानक कसरी बिग्रियो नयाँ भन्ने प्रश्न उठेको छ ।

नगरपालिकाले निर्मलाहत्याकाण्डको करिब दुई महिना अगाडि बजारक्षेत्रमा जडान गरेका १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा आएका छन् । जसका कारण हत्याकाण्ड योजनावद्ध भएको दावीलाई बल मिलेको छ निर्मलाको हत्या भएको एक साता पछिसम्म चलिरहेको होटल ओपेरा अगाडिको क्यामेरासहित केही अन्य महत्वपूर्ण स्थानका क्यामेरा अचानक अहिले बिग्रेका छन् । एसपी कुबेरसिंह कडायतले होटल ओपेराको गेट सहितको क्षेत्रलाई फोकस गरिएको क्यामेरासहित अन्य क्यामेरा १७ साउनपछि नचलेका बताए ।नगरपालिकाले जडान गरेको क्यामेराले ओपेराको गेटको दायाँ–बायाँ पाँच–पाँच मिटर फोकस गरेपनि १७ साउनपछि त्यो क्यामेरा नचलेको एसपी कडायतले बताए ।

सो क्यामेरा भीमदत्तका मेयर सुरेन्द्र विष्टको घर अगाडि जडान गरिएको छ ।१७ साउन अगाडि भने त्यो क्यामेरा चालु रहेको एसपी कडायतको भनाई छ । उनले बलात्कारपछि हत्याको घटना हुँदासमेत प्रहरीले १० र ११ साउनका दिन नगरका सीसीटीभी क्यामेराको फुटेज सुरक्षित नराखेको स्वीकारे । ठूला घटना भएका बेला उपयोगी हुने विश्वासका साथ जडान गरिएका क्यामेरातर्फ प्रहरीले ध्यान नदिएको हो वा जानीजानी फुटेज सुरक्षित नराखिएको भन्नेबारे आफूले केही भन्न नसक्ने एसपी कडायतको जिकिर छ । एसपी कडायत जिल्लाका प्रमुख भएर ८ भदौमा मात्रै कञ्चनपुर आएका हुन् ।

नगरपालिकाले झण्डै २० लाख रुपैयाँको लागतमा बजारक्षेत्रमा १६ क्यामेरा जडान गरेको छ । ती क्यामेरालाई रातको समयमा पनि काम गर्नसक्ने अर्थात् ‘नाइटभिजन क्यामेरा’ बताइएको थियो । क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष राखिएको सो नेटर्कको स्टोरेज क्षमता ६ टीबी भएको बताएको छ । सो क्षमताको हार्डडिस्कमा झण्डै ३० दिनको डाटा सुरक्षित रहने उग्रताराले बताए पनि एसपी कडायतले १३ दिनको डाटा मात्रै सुरक्षित हुने बताए ।एसपी विष्टका छोरा किरण विष्टले १० साउनका दिन परेको आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित होटेल ओपेरामा फोटोसुट गरेको बयान दिएपछि ओपेराको सीसीटभिी फुटेज खोजिएको थियो तर उच्चस्तरीय समिति भदौ ८ मा महेन्द्रनगर आउँदा स्टोरेज क्षमताका कारण ओपेराको त्यो फुटेज स्वतः मेटिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्