निर्मलाका आमाबाबुलाई प्रधानमन्त्रीले यस्तो भने



काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त र प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने नेताहरूको सहभागीता रहेको थियो। निर्मलाका आमा बाबुले अपराधी छिटो पत्ता लगाइदिन अनुरोध गरेका थिए।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार निर्मलाकी आमा दुर्गादेवीले प्रधानमन्त्रीसमक्ष घटनाबारे जानकारी गराएकी थिइन्।

निर्मलाकी आमाको घटनाबारेको ब्रिफीङ सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखित बनाएको बताएका थिए। उनले भनेका थिए, ‘निर्मलाको अभिभावक म पनि हुँ। यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु।’

प्रधानमन्त्री ओलीले सरकारले सुरुमा गठन गरेका समितिले काम नगरेकाले अहिले उच्च स्तरीय समिति गठन गरेर छानबिन भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको छ। यो समितिले अपराधी पत्ता लगाउछ।’

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै निर्मलाका हत्यारालाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा विना मगर, रमेश लेखक, लेखराज भट्ट, दिलेन्द्र बडु, एनपी साउद लगायतका त्यस क्षेत्रका नेताहरुको पनि सहभागिता थियो ।

त्यसैगरी मानवअधिकारवादी र महिला अधिकारकर्मीको पनि सहभागिता थियो ।

थाहाखबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्