पाउला दाङ विमानस्थलले निरन्तरता? पर्यटनमन्त्रीको आश्वासन– दसैंअगाडि विमान उड्छ



रोशनमान श्रेष्ठ,
दाङ– बन्द भएको करिब दुई वर्षपछि दाङ विमानस्थलमा गएको पुस १९ गते विमान अवतरण भयो। सातामा दुई पटक आइतबार र बुधबार काठमाडौं–दाङ–काठमाडौं सिधा उडान भर्ने गरी समिट एयरले सेवा प्रारम्भ गरेको थियो।

पहिलो उडानबाट हालका सभामुख कृष्णबहादुर महरा, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसहित १६ जना हाइप्रोफाइलु नेताहरु दाङ आए। पन्चेबाजासहित ठूलो भिडले विमान र अतिथिहरुको स्वागत गर्‍यो, नेताहरुले अब विमान सेवा कहिल्यै बन्द हुन नदिने बरु त्यसको स्तरोन्नति र इन्धन डिपोको लागि पहल गर्नेु उद्घोष गरे।

तामझामका साथ स्वागत गरिएको पाँच महिना बित्न नपाउँदै विमान आउन छोडेपछि दाङ विमानस्थल पुनस् सुनसान बनेको छ।इन्धनको मूल्य वृद्धिको कारण देखाउँदै प्रतियात्रु २ हजार ६ सय ८० रुपैयाँ एकातर्फी भाडामा वृद्धि गरेपछि विमान सञ्चालनको जिम्मा लिएको तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोड्यो।

‘प्रतियात्रु ७ हजार २ सय भाडा लिनेगरी सहमति भएको थियो तर विभिन्न बहानामा भाडा वृद्धि गरी १० हजार निर्धारण गरेपछि विमान सञ्चालन गर्न नसकिएको हो,’ नगरप्रमुख पाण्डेले भने, ‘इन्धन डिपो नभएकाले पनि केही समस्या भएको हो, तर निर्धारित भाडा तिरेर यात्रा गर्ने यात्रुको अभाव भएकै हो।’

तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु ७ हजार २ सय भाडा लिने सहमति भएको थियो। हवाई यात्राका लागि छिमेकी जिल्ला नेपालगन्ज र भैरहवाबाट विमान सेवा प्रयोग गर्दा भाडा २ हजार २ सयदेखि ५ हजारसम्म पर्ने गर्छ।

विसं २०११ मा स्थापना भएको दाङ टरिगाँउ विमानस्थलमा पछिल्लो समय १० करोड रुपैयाँ लगानीमा ७ सय मिटर लामो धावनमार्ग कालोपत्र भएको थियो।विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गरिरहेको तुलसीपुर उपमहानगरपालिकाले बताएको छ।

मन्त्रीको आश्वासन– दसैंअघि विमान उड्छ
उपमहानगरकै पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दाङ विमानस्थलको अवलोकन गर्दै दसैंअगाडि नै विमान सञ्चालन गर्ने आश्वासन दिएका छन्।

आइतबार विमानस्थल अवलोकनपछि स्तरोन्नति र इन्धन डिपोको काम सुरु गर्ने बताउँदै उनले तत्कालका लागि दुई विकल्प अघि सारेका छन्। ‘पहिलो विकल्प भनेको काठमाडौं–भैरहवा–दाङ र अर्को सिधै काठमाडौं–दाङ हो,’ उनको भनाइ थियो, ुजुन उपयुक्त हुन्छ, त्यही अनुसार विमान सञ्चालन हुन्छ।’
मन्त्री अधिकारीले दाङमा हुने भनिएको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको सर्वेका लागि एक महिनाभित्र कन्सल्टेन्ट नियुक्त हुने र काम अघि बढ्ने पनि प्रतिबद्धता जनाए।

तर, भएको विमानस्थल पटकपटक सञ्चालन हुने र बन्द हुने परिपाटीले अर्को विमानस्थल बन्ला र नियमित उडान होला भन्नेमा स्थानीय विश्वस्त देखिँदैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्