एसिया कपमा आज हङकङ र भारत भिड्दै



सैघाली खबर, २ असोज ।

एसिया कप क्रिकेटमा आज (मंगलबार) हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । हङकङलाई पराजित गरे भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ । भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहनेछ ।

हङकङले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो । यता, भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । तुलनात्मक रुपमा हङकङले पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको थियो ।

त्यही गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा हङकङ रहेको छ । यता, भारत भने रोहित शर्माको कप्तानीमा पहिलो पटक जारी एसिया कपमा खेल्दैछ । नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएसँगै भारतको नेतृत्व रोहित शर्मालाई दिइएको हो ।

हेड टु हेड

भारत र हङकङबीच अहिलेसम्म १ खेलमा मात्रै भेट भएको छ । हङकङ एसोसिएट राष्ट्र हो । त्यसकारण पनि टेष्ट नेशन राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर विरलै पाउने गरेको छ । सन् २००८ मा पाकिस्तानको कराँचीमा सम्पन्न एसिया कप मै हङकङ र भारतले प्रतिस्पर्धा गरेको थियो ।

जुन खेलमा भारत २५६ रनको भारीअन्तरले विजयी भएको थियो । त्यसबेला भारतका तत्कालिन कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले शतक बनाएका थिए । ३७५ रनको विशाल लक्ष्य पछ्याएको हङकङले ३६.५ ओभरमा ११८ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्