प्रतिमहिना ६ महिला बलात्कृत



सुर्खेत ।कर्णाली प्रदेशमा पनि पछिल्लो समय बलात्कार तथा यौनजन्य घटना बढ्दै गइरका छन्। प्रहरीकहाँ दर्ता भएका घटनालाई मात्र आधार मान्ने हो भने कर्णालीमा प्रत्येक महिनामा सरदर ६ जना महिला तथा किशोरी बलात्कृत हुने गरेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षदेखि हालसम्म १४ महिनाको अवधिमा ७७ वटा बलात्कारका घटना भएका छन्। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकृत रामकाजी थापाका अनुसार बलात्कारको घटनामा अधिकांश किशोरीहरु नै रहेका छन्। विद्यालय उमेरमा बालबालिकाहरु नै प्रायजसो बलात्कारको शिकार हुने गरेको थापाले बताए। ‘पछिल्ला केही वर्षको तथ्यांक हेर्दा क्रमश बलात्कारका घटना बढ्दै आएको देखिन्छ’ उनले भने, ‘विगतमा पनि यस्ता घटना हुन्थे, यो कुरा अपराध हो। प्रतिकार गर्नुपर्छ भन्ने नजानेर पनि प्रहरी समक्ष आउँदैनथे, तर अहिले चेतनाका कारण पनि तथ्यांकमा बृद्धि भएको हुनसक्छ। तर बलात्कारका घटनामा पनि बृद्धि भने भएको देखिन्छ।’

तथ्यांकलाई हेर्दा सुरक्षा र चेतनाको हिसाबले सबैभन्दा अगाडि देखिएको कर्णाली प्रदेशको राजधानीमा नै बलात्कारका घटनामा बढी भएको देखिन्छ। गत आर्थिक वर्षमा मात्रै सुर्खेतमा २३ वटा बलात्कारका घटना भएका थिए। ९ वटा जबरजस्ती करणी प्रयास भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा मात्रै पाँचवटा बलात्कारका घटना दर्ता भएका छन्। जाजरकोट र डोल्पामा एक÷एक वटा घटना भएका छन्।

यस्तै गत आर्थिक वर्षमा सल्यानमा ११ वटा, दैलेख ८, रुकुम पश्चिममा ९, जाजरकोट ४, कालिकोट २, जुम्ला २ र मुगुमा २ वटा बलात्कारका घटना भएका थिए। गत आर्थिक वर्षमा भएका ६१ वटा बलात्कारका घटनामा संलग्न ६१ वटै अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पनि बलात्कार घटनामा अधिकांश किशोरीहरु नै पीडित हुने गरेको बताएको छ।

विभिन्न प्रलोभन देखाउने र किशोरीमाथि यौनजन्य अपराध गर्ने अवस्था मौलाएको छ। यता प्रहरी प्रमुख बसन्त रजौरेले कर्णालीमा सबै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याएको भन्दै आफुहरु घटना हुनै नदिने पक्षमा कार्यरत रहेको बताए।

यौनजन्य हिंसाका घटनामा बृद्धि हुँदै आएपछि कर्णालीका मानवअधिकारकर्मीहरुले प्रहरी प्रशासनलाई गम्भीर हुन अनुरोध गरेका छन्। किशोरी, असहाय महिला र बृद्धासम्म पीडित हुने गरेकाले प्रहरीले समाजमा महिलालाई सुरक्षित तवर बाँच्ने अवस्था सिर्जना गर्न अनुरोध गरेका छन्। सोमबार निर्मला पन्त बलात्कार र हत्या घटनामा दोषीलाई कारबाहीको मागको लागि ध्यानाकर्षण गराउन प्रशासन पुगेका कर्णालीका अधिकारकर्मीहरुले कर्णाली प्रदेशमा पनि छोरीलाई सुरक्षित महशुस गराउन वातावरण तयार गर्न अनुरोध गरेका हुन्।

कतिपय घटना गाउँमै मिलाउने, अदालतसम्म पुगेका घटनामा पनि प्रलोभन देखाएर पीडकलाई उम्काउने भइरहेकोले प्रहरी प्रशासन बलात्कारका घटनामा गम्भीर बन्ने अधिकारकर्मीहरुको अनुरोध थियो। देशव्यापी बनेको निर्मला पन्तले न्याय नपाउँदा कर्णालीका महिला तथा किशोरीहरुले पनि असुरक्षित महशुस गरेको आवाज संस्था सुर्खेतका पवित्रा शाहीले बताइन्। ‘कर्णालीमा पनि कैयौं निर्मलाहरु बलात्कृत भएका छन्, अहिले कन्चनपुरकी निर्मलाले न्याय नपाउँदा भोली यहाँ पनि यही परिस्थीति दोहोरिन्छ’ उनले भनिन्, ‘महिलाका विषयमा सरकार गम्भीर नबन्दा अन्तर्राष्ट्रिय स्तरमा नै लज्जा भएको छ, हामीलाई जसरी पनि सुरक्षित वातावरण चाहिन्छ।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव मार्फत प्रधानमन्त्रीलाई तुरुन्त निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन्। कर्णाली प्रदेशमा कार्यरत अधिकारकर्मीहरु, गैरसरकारी संस्थाका प्रतिनिधि र महिलाहरुले निर्मला पन्त र उनको परिवारलाई यथासिघ्र न्याय दिलाई समाजमा छोरीचेलीको सुरक्षाको ज्ञारेन्टी गर्न अनुरोध गरेका छन्।

दैनिक बलात्कार र हत्याबढ्दै जाँदा हिंसात्मक घटनाले आक्रान्त भएका र आमनागरिकले हिंसात्मक घटनाको डर, त्रास र असुरक्षाको महसुस गरिरहेहको महिला अधिकारकर्मी शिमा चन्दले बताइन्। ‘निर्मला पन्तले न्याय नपाएको खबर दैनिक सञ्चार माध्यममा आउँदा हाम्रा छोरी चेलीहरु पनि बाहीर निस्कन डराउँछन्’ उनले भनिन्। कर्णाली प्रदेशका सम्पूर्ण अधिकारकर्मीहरुले बलात्कारजन्य घटनामा सरकारी पक्षबाट अनुसन्धान ढिलाई हुने कुरामा आपत्ती जनाएका छन्।गोबिन्द देवकोटा, अन्नपुर्ण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्