सुल्झियो विवाद – असोजमै अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण हुने



जनक नेपाली

दाङ, ४ असोज । लामो समय देखि विवादमा तानिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद सुल्झिएको छ । सभामुख कृष्णबहादुर महराको पहलमा करिव ९ महिना देखिको विवाद समाधान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले भदौं ३१ गते पत्र लेखि राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाने भने पछि विवाद सुल्झिएको हो । यसअघि स्वामित्व हस्तारणको विषयमा प्रतिष्ठान र उपक्षेत्रिय अस्पतालका बीच विवाद रहदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयको परिपत्रको बोधार्थ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएसँगै विवाद सकिएको प्रतिष्ठानका उपकूलपति संगीता भण्डारीले जानकारी दिनुभयो । अस्पतालको स्वामित्व हस्तान्तरण आगामी असोज तेश्रो सातासम्म भइसक्ने जानकारी भण्डारीले दिनुभयो । त्यसको आवश्यक तयारीका लागि राप्ती उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.जनार्दन पन्थी र आफू बीच कुरा भइसेको उहाँले बताउनु भयो । अस्पतालको सम्पूर्ण सम्पति विवरण रेकर्ड राख्ने काम शुरु गरेको बताउँदै भण्डारीले यस बीचमा बाँकी मन्त्रालयमा गर्नुपर्ने काम समेत पुरा गर्ने उहाँले बताउनु भयो ।

अहिले मन्त्रालयले आर्थिक अख्तियारी आफूलाई नदिएको बताउँदै भण्डारीले बजेट व्यवस्थापनको काममा आफूसँगै रजिष्टार रामप्रसाद प्याकुरेल र अस्पताल डाइरेक्टर डा.रितु बराल त्यसमै व्यस्त रहेको उहाँले बताउनु भयो । स्वामित्व हस्तान्तरण पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चलायमान बनाउने भण्डारीले वताउनु भयो । सरकारी अस्पताल प्रतिष्ठान मातहत ल्याए नागरिकले पाउने सेवा सुविधामा समेत बृद्धि गर्दै लैजाने भण्डारीकोे भनाई रहेको छ । पछिल्लो समय अस्पतालमा दैनिक विशेषज्ञ डाक्टरको अभाव भइरहेको बताउँदै भण्डारीले स्वामित्व पाएकै दिन अस्पतालमा आवश्यक विशेषज्ञ डाक्टर थप गरी सेवा विस्तार गर्ने तयारीमा आफू जुटेको उहाँले बताउनु भयो ।


जग्गा छनौट प्रकृया तत्काल शुरु हुने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यकपर्ने जग्गा छनौट प्रकृया तत्काल शुरु हुने भएको छ । प्रतिष्ठानलाई आवश्यक पर्ने जमिनको सभाव्यता अध्ययन गर्न गठित कार्यदलको बैठक बसी यसै महिना प्रकृया थाल्ने उपकुलपति संगीता भण्डारीले जानकारी दिनुभयो । त्यसका लागि आज बुधवार रजिष्टार रामप्रसाद प्याकुरेल र अस्पताल डाईरेक्टर डा.रितु बराललाई दाङ पठाइएको उहाँले बताउनु भयो । कार्यदलले प्रतिष्ठानलाई आवश्यक पर्ने जमिनको व्यवस्थापन गर्न अम्बापुर, धर्ना र नारायणपुर लगायतका विभिन्न क्षेत्रमा रहेको जमिनको अध्ययन समेत गर्ने भण्डारीको भनाई छ ।

 

प्रतिष्ठान दाङकै प्रतिष्ठाको बिषय  पूर्व मन्त्री शर्मा
पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रतिष्ठाको विषय भएको बताउनु भएको छ । अस्पतालको स्वामित्व प्राप्त भए दाङको स्वास्थ्य क्षेत्रले नयाँ फट्को मार्ने समेत उहाँले वताउनु भयो । सभामुख कृष्णबहादुर महरा,दाङबाट प्रतिनिधित्व गर्ने सांसदको पहल कदमीले दाङमा स्वास्थ्य विज्ञान प्रतिष्ठान आएको बताउँदै सांसद शर्माले यसको विकासका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो । अब गरिवका छोरा, छोरीले पनि दाङमै स्वास्थ्य बिषय पढ्न पाउने बताउँदै शर्माले त्यसका लागि सबै मिलेर जानुपर्ने बताउनु भयो ।

 

स्वामित्व हस्तान्तरण गर्न सभामुख सहितको टोली दाङ आउने

राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व हस्तान्तरणका लागि सभामुख कृष्णबहादुर महरा दाङ आउनु हुने भएको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको पूर्व मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । आगामी असोज तेश्रो साता सभामुख सहित दाङका पूर्व मन्त्री,दाङबाट प्रतिनिधीत्व गर्ने सांसदको टोली दाङ आउने मन्त्री शर्माले जानकारी दिनुभयो । यसै बीच राप्ती उपक्षेत्रिय अस्पतालका मेसु डाक्टर जनार्दन पन्थीले कर्मचारी व्यवस्थापनको काम तत्काल शुरु गर्ने बताउनु भयो । अस्पताल हस्तान्तरको काममा आफू लागेको बताउँदै मेसु पन्थीले आगामी असोज तेश्रो साता सम्म अस्पताल जसरी भएपनि हस्तान्तरण गर्ने उहाँले बताउनु भयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्