एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा



दमौली, ४ असोज.तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । आफू यसै क्षेत्रबाट निर्वाचित भएको भन्दै उहाँले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद श्रेष्ठले यसअघिका महीनाको सबै तलब जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्थालाई सहयोग गर्नुभएको छ ।
उहाँले व्यास नगरपालिका–१४ को छाब्दीबाराही विकास कोष, ब्यास नगरपालिका–१० स्थित सुधेरी गैरखानेपानी उपभोक्ता समिति, ब्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिर, ब्यास नगरपालिका–११ तनहुँसुरस्थित तनहुँसुर खानेपानी योजना र भानु नगरपालिका–१० स्थित दुधेकुना मन्दिरलाई रु ५०÷५० हजार प्रदान गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्