मध्यमस्तरीय कर कार्यालयलाई साढे १७ अर्ब उठाउने चुनौती



सैघाली खबर, ५ असोज ।

कर संकलन प्रभावकारी बनाउने भन्दै पहिलोपटक सञ्चालनमा ल्याइएको मध्यमस्तरीय कर कार्यालयले १० महिनाभित्रमा १७ अर्ब ५० करोड कर संकलन गर्नुपर्ने भएको छ । देशभरका साना कर कार्यालयलाई खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालय सञ्चालनमा ल्याइएको हो । यस कार्यालयले चालु आर्थिक वर्षमा १८ अर्ब राजश्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

साउनमा कार्यालय सञ्चालनमा आएको थिएन । भदौमा ५० करोड मात्रै रुपैयाँ राजश्व संकलन भयो । यो भदौ महिनाको लक्ष्यभन्दा २२ करोड रुपैयाँ कम हो । त्यसैले एक वर्षको लक्ष्य हासिल गर्न बाँकी १० महिनामा अवधिमा १७ अर्ब ५० करोड रुपैयाँ राजश्व उठाउनु पर्ने भएको हो ।पहिलो महिना व्यवस्थापकीय कामहरुमा केन्द्रित हुनु परेकाले तोकिएको लक्ष्य भेट्न नसकिएको प्रमुख कर प्रशासक झक्कप्रसाद आचार्यले बताए । ‘एक वर्षको लक्ष्य जसरी पनि पूरा गर्छौं’ उनले भने ।

४० करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्मको बार्षिक कारोबार गर्ने करदाता हेर्ने गरी यो कार्यालय सञ्चालनमा ल्याइएको छ । यसअघि ४० करोडभन्दा माथिका करदाता कार्यालयहरु ठूला करदाता कार्यालयले हेर्दै आएको थियो । अर्थमन्त्रालयले मध्यमस्तरीय कर कार्यालय सञ्चालनमा ल्याएपछि अब ठूला करदाता कार्यालयले भने ८० करोडभन्दा माथिका करदाता मात्र हेर्नेछ ।

ठूला करदाता कार्यालयबाट फुटाएर अर्थमन्त्रालयले मध्यमस्तरीय कर कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय सञ्चालनमा ल्याइएको एक महिनाभन्दा भइसके पनि कर्मचारी व्यवस्थापन भने भइसकेको छैन । कार्यालय प्रमुख आचार्यका अनुसार ७४ जनाको कूल दरबन्दी रहेको छ । दरबन्दीको हाल ५० प्रतिशत पनि पुर्ति भएको छैन । ‘सेड्युलमा सरुवा हुने भएकाले असोज १५ गतेतिर हुन्छ होला’ उनले भने, ‘दशैं अगाडि नै कर्मचारी व्यवस्थापन भइसक्नेछ ।’

कर तिर्न बैंकिङ प्रणाली

मध्यमस्तरीयको कार्यक्षेत्र मुलुकभर छ । ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कारोबार गर्ने देशभरका फर्म, उद्याग, व्यवसाय सबैले यसै कार्यालयमा कर दाखिला गर्नु पर्नेछ । यस कार्यालयका शाखा वा माताहतका कार्यालयहरु रहने छैनन् । सबै जिल्लाका करदाताहरुले अनलाइनमार्फत करको विवरण पेश गर्नु पर्ने बताइएको छ । कर तिर्न भने बैंकिङ प्रणाली अपनाउनु पर्नेछ । देशभरका करदाताले मध्यमस्तरीय कर कार्यालयमार्फत मात्रै कर तिर्नुपर्ने भएकाले बैंकिङ प्रणाली अपनाइएको आचार्य बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्