कारागारबिहीन जिल्ला



 

रुकुम पूर्व, ९ असोज . गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहँुदा यहााँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ ।

जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । जिल्लामा कारागार नहुँदा कैदीबन्दीलाई पूर्व र पश्चिम ओहोरदोहोर गराउन कठिनाइ हुने गरेको छ । “बाटो असहज छ, थुप्रै चुनौतीका बीच कैदीबन्दीलाई रुकुम पश्चिम पठाउनु परिरहेको छ,” तिम्सिनाले भन्नुभयो ।

आफ्नै जिल्लाका कैदीबन्दी राख्न गाह्रो भइरहेको बेला अर्को जिल्लाबाट कैदी ल्याएर राख्दा थप समस्या भएको रुकुम पश्चिम कारागारका जेलर लोकबहादुर घर्तीले बताउनुभयो । कारागारमा कैदीको व्यवस्थापनका साथै अदालतमा उपस्थित गराउन निकै समस्या भएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले कारागार स्थापनाका लागि गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा पटक पटक ताकेता गर्दैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल कारागार स्थापना गर्न नसके अरु समस्या आउनुका साथै व्यवस्थापनमा थप समस्या हुन्छ ।” कारागारका लागि संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन सिस्ने गाउँपालिकासँग छलफल भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्