मूल्यसूची विना नै उपभोग्य बस्तु बिक्री – पसलै पिच्छे फरक, फरक मूल्य



जनक नेपाली  
दाङ, १७ असोज । चाडपर्वको समय शुरु भएसँगै दाङका बजारमा सर्वसाधारणको घुईचो बढ्न थालेको छ । जिल्लाको घोराही,तुलसीपुर,नारायणपुर भालुवाङका बजारहरुमा दैनिक उपभोग्य बस्तु किनमेल गर्ने उपभोतmाको संख्या पनि बढेको छ । तर किराना पसलमा दैनिक उपभोग्य बस्तुको मुल्य पसलै पिच्छे फरक,फरक हुँदा भने सर्वसाधारण उपभोक्ताहरु मर्कामा पर्न थालेकाछन् । बजारमा दैनिक उपभोग्य बस्तु नुन, तेल, चिनी, चामल लगायत विभिन्न खाद्यान्न बस्तुमा पसल अनुसार दर रेट फरक हुँदा समस्या भएको घोराही(१५ का चिन्ताबहादुर खत्री बताउनु हुन्छ ।

 

नुन, तेल, चामल, चिनीको भाउ किनारा पसल अनुसार १० देखि २० रुपैयाँ प्रति किलो फरक पर्ने गरेको खत्रीले बताउनु भयो । गल्ला तथा किराना व्यवसायी समितिले मुल्य सूची कायम गरेपनि रेट लिष्ट भन्दा बाहिर गएर व्यवसायीहरुले दैनिक बस्तुको मुल्य आफू खुसी तोक्ने गरेको खत्रीको भनाई छ । बजारका अधिकांस किराना पसलमा मुल्य सूची टाँस नै नगरी उपभोग्य बस्तुको विक्री,वितरण गर्दा आम उपभोक्ता ठगीमा पर्ने गरेकाछन् । व्यवसायीले जति मुल्य भन्यो उपभोक्ताले उतिनै मुल्य तिर्नुपर्ने बाध्यता रहदै आएको छ ।

स्थानीय प्रशासनले उपभोग्य बस्तुका रेट लिष्ट देखिने गरी पसल अगाडी राख्न आग्रह गर्दा समेत पनि व्यवसायीले अटेरी गर्दै आएको किराना व्यवसायी समितिका अध्यक्ष उपेन्द्र खड्काले बताउनु भयो । खड्काका अनुसार गल्ला तथा किराना व्यवसाय समिति दाङले दैनिक उपभोग्य बस्तु चिनी प्रति केजी ७५ मोटो चामल ४५, जिरा मन्सुली ६५ स्टिम जीरा चामल ७० रुपैयाँ प्रतिकिलो तोकेको छ । यस्तै मल्का मसुरो दाल प्रतिकिलो एकसय लोकल मसुरो १ सय १०, अरहर १ सय २०, मैदा ५५, सुजी ५५, आटा प्रति झोला २ सय २०, चना १ सय १०, चिउरा ८० भटमास एक सय चना १ सय १० नरिवल ४ सय ५० छोहरा १ सय ८० रुपैयाँ प्रतिकिलोका दरले रेट लिष्ट तयार पारी सोहि अनुसार विक्री गर्न व्यवसायीलाई आग्रह गरिएको बताउनु भयो ।

 

 

बजार अनुगमनलाई तीब्र पारेका छौ – प्रशासन

चाडपर्वलाई मध्यनजर राख्दै बजार अनुगमन तीव्र पारेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । दशै,तिहार जस्ता ठुला पर्वमा हुने कालोबजारी नियन्त्रणका लागि असोज १४ गते देखि घोराही बजारमा अनुगमन थालेको बजार अनुगमन समितिका संयोजक तथा दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले जानकारी दिनुभयो । सर्वसाधारणबाट बजारमा दैनिक उपभोग्य बस्तुको मुल्य एक्कासी मुल्य बढेको भन्ने गुनासो आएपछि बजार अनुगमन थालेको सहायक प्रजिअ आचार्यले वताउनु भयो ।

 

प्रसाशनमा लिखित रुपमा निवेदन दर्ता नआएपनि आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय उपभोग्य बस्तु प्रदान गर्न प्रसाशन लागेको अनुगमन संयोजक तथा सहायक प्रजिअ आचार्यले बताउनु भयो । अनुगमनकामा आफूहरुले दैनिक उपभोग्य बस्तु र मदिराजन्य बस्तुमा बढी ध्यान दिएको पनि उहाँले बताउनु भयो । अनुगमन गर्दा अबैध र म्याद गुर्जेका सामान बरामत गरेको बताउदै संयोजक आचार्यले त्यस्ता वस्तु नष्ट गरिने पनि उहाँले बताउनु भयो । कतिपय पसलमा मुल्यसूची टाँस नगरेको ,म्याद नाघेका सस, पियपदार्थ र फोहोरका थुप्राहरुनै भेटिएको उहाँले वताउनु भयो ।

कारवाही गर्छाै प्रजिअ – श्रेष्ठ

दाङका प्रमुख जिल्ल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले चाडपर्वको मुखमा उपभोतmाहरुलाई अखाद्य बस्तु बिक्री गरि ठग्ने व्यापारीलाई कार्वाही गरिने बताउनु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय निकायका प्रमुखहरु बजार अनुमनमा गएको बताउँदै प्रजिअ श्रेष्ठले अनुगमनमा गएको टोलीले कार्वाहीको सिफारीस गरे अखाद्य बस्तुको विक्री,वितरण गर्नेलाई कार्वाही गरिने उहाँले वताउनु भयो । कालोबजारी नियन्त्रण गर्ने काममा आफू लागेको भन्दै प्रजिअ श्रेष्ठले नियम भन्दा बाहिर नगएर आफनो कारोवार गर्न व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

यस्तो छ कानुनी व्यवस्था

सरकारले अबैध रुपमा कालोबजारी गर्ने व्यापारीलाई कडा कार्वाही गर्ने कानुनी व्यवस्था गरेको छ । खाद्य ऐन २०२३ ले यदि कम गुणस्तरको खाद्य उत्पादन र विक्री, वितरण गरेमा, मिसावट खाद्य एवं मनोमानी विक्री, वितरण गरेको पाइएमा ५ हजारदेखि १० हजारसम्म आर्थिक जरिवाना वा एक बर्ष कैद एवं घटनाको प्रकृति हेरी दुबै सजायको व्यवस्था गरेको बजार अनुगमन समितिका संयोजक तथा दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले जानकारी गराउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्