छामेर पासपोर्ट जाँच



काठमाडौँ १७ असोज — अवैध प्रक्रियाबाट नेपाल भित्रिनेका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सजिलो प्रवेशमार्ग बनेको छ । सजिलै अनअराइभल भिसा पाइने र राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधि नहुँदा देशकै मुख्य विमानस्थल कमजोर बनेको हो । यहाँ रेटिना, डिजिटल औँठाछाप अध्ययन र फोटो खिच्ने प्रविधि छैन ।

भदौ ५ मा नक्कली इजरायली राहदानी लिएर आएका इमेई होसिन लास्कारी र नायदे याराम्दीले सजिलै पर्यटक भिसामा प्रवेश अनुमति पाए । १५ दिन काठमाडौं बसेर यो दम्पती जर्मनीका लागि उड्यो । तर, ट्रान्जिट देश टर्कीको अध्यागमनले राहदानी नक्कली रहेको भन्दै उनीहरूलाई नेपालै फिर्ता पठाइदियो । इजरायली राहदानी बोकेका उनीहरू इरानी नागरिक रहेको खुल्यो ।

त्रिभुवन विमानस्थलमा नक्कली राहदानीमा सक्कली भिसा लगाएर नेपाल पस्ने र केही दिनको ट्रान्जिटपछि युरोप र अमेरिका छिर्ने प्रयास बारम्बार हुँदै आइरहेको छ । गत असार ६ गते ५ बालबालिकासहित काठमाडौं उत्रिएका ९ विदेशी इस्ट टिमोरको राहदानी लिएर आएका थिए ।

ट्राभल हिस्ट्रीमा उनीहरू मलेसिया हुँदै नेपाल आएको देखिन्थ्यो । १५ दिनको अनअराइभल भिसा रहेका उनीहरू असार १८ मा कतार एयरलाइन्समार्फत बोस्निया हर्जगोभिना पुगे । तर तीन दिनपछि उनीहरू काठमाडौंमै फिर्ता भए । इस्ट टिमोरको राहदानी बोकेका उनीहरू अफ्रिकी देश सुडानका रहेछन् । अध्यागमन स्रोतका अनुसार मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहले उनीहरूलाई अवैध पासपोर्ट बोकाएर नेपाल पठाएको थियो । नेपालको भिसा र केही दिन बसेको प्रमाण भएपछि राहदानीले वैधता पाउने र त्यसैका आधारमा युरोप छिर्ने उनीहरूको योजना थियो ।

यस्ता घटनाका अरू पनि छन् । असार ४ मा नक्कली बेलायती पासपोर्ट बोकेका ५ पाकिस्तानीले सहजै अनअराइभल भिसा पाए । केही दिन ठमेलमा बसेर तेस्रो देश उड्ने बेला मात्रै उनीहरूको राहदानी नक्कली रहेको थाहा भयो । हातैले छामेर राहदानीको वैधता पत्ता लगाउनुपर्ने अवस्था भएकाले यस्ता घटना दोहोरिने गरेको विमानस्थलका अध्यागमन अधिकारी बताउँछन् । ‘नेपाल नै यस्तो देश होला जहाँ पासपोर्ट रिडमात्रै गरेर, यात्रुको रेटिना, औँठाछाप र फोटो नखिची प्रवेश अनुमति दिइन्छ,’ एक अधिकारीले भने, ‘यात्रुको ट्राभल हिस्ट्री जाँच र पासपोर्टको वैधता परीक्षण त परको कुरा ।’

नेपालको अध्यागमनमा प्रविधिमा रहेको यही कमजोरीको फाइदा लिँदै विदेशीहरू यहाँ केही दिन बस्ने र विदेश पस्ने गरेका छन् । ‘विदेशबाट फर्काइएकाको त थाहा भयो, तर थाहा नभएका कति होलान् रु’ ती अधिकारीले भने ।

अध्यागमन अधिकारीहरूले प्रहरीको अन्तर्राष्ट्रिय संगठन ९इन्टरपोल० ले तयार पारेको हराएका र चोरिएका पासपोर्टको डाटाबेसयुक्त माइन्ड सफ्टवेयरमा राहदानी नम्बर हालेर रुजु गर्न सक्छन् । तर नक्कली राहदानी चिन्ने प्रविधि विमानस्थल अध्यागमनसँग छैन । करिब डेढ वर्षअघि अमेरिकी दूतावासको सहयोगमा विमानस्थल अध्यागमनमा पाइसेस ९पीआईसीईएस० सफ्टवेयर राख्नेबारे छलफल भएको थियो । यस्तो सफ्टवेयरमा यात्रु कुन–कुन देश हुँदै आएको हो भन्ने जानकारी हुने भएकाले राहदानीको वैधतासमेत थाहा पाउन सकिन्छ । तर त्यतिबेला सरकार परिवर्तन भएसँगै यो विषयले प्राथमिकता पाएन ।

२०१४ देखि विमानस्थलमा इमी नामक सफ्टवेयर प्रयोगमा ल्याइएको छ । यसले राहदानीको डाटा मात्रै पढ्न सक्छ । विमानस्थल अध्यागमनका प्रमुख अधिकृत राजेश पौडेलले भने, ‘हातैले छामेर पासपोर्टको वैधता छाम्नुपर्ने बाध्यता छ । अनि कसरी सक्कली र नक्कली खुट्याउन सकियोस् । हाम्रो कमजोर प्रविधिको फाइदा मानव तस्करले पनि नउठाउलान् भन्न सकिन्न ।’

विमानस्थल अध्यागमन प्रविधिमैत्री नभएकोबारे सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आवाज उठेको थियो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमनलाई प्रविधिमैत्री बनाउन ७ करोड रुपैयाँ लाग्ने हिसाब निकालिएको र सुधारका लागि प्रतिवेदन तयार पारिएको बताए । नक्कली राहदानी चिन्न सक्ने प्रविधि व्यवस्थापनलाई प्राथमिकतमा राखिएको जनाउँदै उनले भने, ‘आधुनिक प्रविधि नभएसम्म नक्कली पासपोर्ट रोक्न सजिलो छैन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्