खेलाडी रन्जना धामी र प्रशिक्षक कविराज नेगी लामा सम्मानित



काठमाडौं ८ साउन ।तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी रन्जना धामी र प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । रन्जनालाई आफ्नै डोजाङ एसिडिसी तेक्वान्दो डोजाङले सम्मान गरेको हो । रन्जना र प्रशिक्षक कविराजलाई डोजाङका अध्यक्ष एवम् एसिडिसीका संस्थापकसमेत रहेकी सिएनएन सुपर हिरो पुस्पा बस्नेत, एसिडिसीका डाइरेक्टर विशाल राई,डोजाङ प्रमुख कल्याण कुँवर र गाम्सा तेक्वान्दो डोजाङका प्रमुख राजिव बस्नेतले सम्मान गरे । जमलमा आयोजित कार्यक्रममा एसियन पारा तेक्वान्दोमा पदक विजेता रन्जनालाई डोजाङकी अध्यक्ष बस्नेत र डोजाङ प्रमुख कुँवरले नगद ५ हजार र सम्मानपत्रद्वारा सम्मान गरे ।

कार्यक्रममा सिएनएन सुपर हिरो बस्नेतले रन्जना जस्तै अन्य थुप्रै पारा खेलाडीलाई हौसलित गर्न संस्थाले हरेक समय काम गर्ने बताइन् । शारीरिक अपाङ्गता भएर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै नेपालको नाम राख्न सफल रञ्जनालाई हौसला बढाउन सम्मान गरिएको सीएनएन सुपर हिरो पुष्पाले बताइन । डोजाङ प्रमुख कुँवरले खेलाडीलाई यस्तै किसिमको उत्पे्ररणा मिलेमा उनीहरुको खेलस्तर सुधार हुने बताए ।उक्त सम्मान कार्यक्रममा ह्वीइल चियर पारा तेक्वान्दो खेलाडीहरुकोसमेत उपस्थिती रहेको थियो । दक्षिण कोरियाको छुनछुनमा भएको पारा तेक्वान्दो च्याम्पियनसिपमा रन्जनाले ४९ केजीतौलसमुह अन्तर्गत के–४४ विधामा कांस्य पदक जितेकी थिइन् ।

गत १ जुलाईमा भएको च्याम्पियनसिपको सेमिफाइनलमा रन्जना मंगोलियाकी खेलाडी खुरेल बातरसँग पराजित भएपछि कांस्य पदकमै सिमित भएकी थिइन् । बातरले नै च्याम्पियनसिपमा स्वर्ण जित्नुका साथै बेस्ट फाइटरको उपाधिसमेत हात पारेकी थिइन् । इसिडिसी तेक्वान्दो डोजाङमा ८ पारा तेक्वान्दो र ह्वीइल चियरका ९ खेलाडी प्रशिक्षणमा रहेको डोजाङ प्रमुख कुँवरले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्