रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण समयमा नसकिने



काठमाण्डौ १९ असोज ।  रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याइने क्षेत्रमा पर्ने वीरगञ्जका धार्मिक स्थल र पर्सा राष्ट्रिय निकुञ्जका कारण आयोजना समयमा नै नसकिने भएको छ । निकुञ्जले ढिला गरी मात्र रूख काट्ने सहमति दिएको र धार्मिक क्षेत्रबाट पाइपलाइन कसरी ल्याउने भन्ने टुंगो नलाग्दा निर्धारित मितिमा नसकिने भएको हो ।

आयोजना मार्च २०१९ सम्ममा सक्ने सम्झौता भएको छ । पाइपलाइनको २०.९ किलोमिटर बारा र १५.२ किलोमिटर पर्सामा पर्छ । जसमध्ये नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्छ । निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन ढिला गरी दिएकाले अहिलेसम्म रूख काट्न नसकिएको आयोजनाका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।

 

पाइपलाइन बिछ्याउने रुट सिमरादेखि अमलेखगञ्जसम्म सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र पर्छ । ‘निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन दिइसकेको छ, हामीले दाबीविरोधका लागि ३० दिनको समयावधि दिई सूचना प्रकाशित गरेका छौँ, अब जंगल क्षेत्रमा पनि छिटै पाइपलाइन विस्तार हुन्छ,’ इन्जिनियर पौडेलले भने । सामुदायिक वन र निकुञ्ज क्षेत्रका ३० सेन्टिमिटर डायमिटरभन्दा ठूला पाँच हजार रूख काटिनेछन् ।

उता सीमावर्ती रक्सौलबाट वीरगञ्जको रजतजयन्ती चोकसम्म पाइप धमाधम बिछ्याइँदै छ । तर, ठूला भवन र धार्मिक स्थलमा कसरी पाइप बिछ्याउने भन्ने निश्चित भएको छैन । त्यहाँको अवरोध नहटे ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ मेसिनबाट जमिनमुनि पाइप बिछ्याउने तयारी आयोजनाको छ ।

त्यसका लागि ड्रिलिङ मेसिन नेपाल आइसकेको इन्जिनियर पौडेलले जानकारी दिए । पाइपलाइन रुटमा पर्ने खोला तथा नदीमा पनि पाइप जमिनमुनि राखिनेछ । पौडेलका अनुसार करिब ६ सय मिटर पाइप जमिनमुनि हुनेछ ।

नेपालतर्फ राखिएको पाइप १०.७५ इन्च गोलाइको छ । यी पाइप भारतीय कम्पनी जिन्दलले माटो परीक्षण गरी बनाएको पौडेलले जानकारी दिए ।

पाइप सडकको क्षेत्राधिकारभित्र रहेको जग्गाबाटै पाइपलाइन विस्तार गर्न लागिएकाले मुआब्जालगायतका कुनै पनि समस्या झेल्नु नपरेको आयोजनाले जनाएको छ । अमलेखगञ्जस्थित आयल निगम मध्यमाञ्चल क्षेत्रीय कार्यालय तथा पेट्रोलियम पाइपलाइन आयोजनाका प्रमुखसमेत रहेका इन्जिनियर प्रदीपकुमार यादवले भने आयोजना समयमै सकिने दाबी गरे ।

‘पाइपलाइन निर्माण गर्न लागिएको क्षेत्रमा कुनै पनि अवरोध नदेखिएकाले निर्धारित समयमै कार्य सम्पन्न हुने विश्वास हामीले लिएका छौँ,’ इन्जिनियर यादवले भने । अहिलेसम्म ५७ प्रतिशत काम सकिएको उनले बताए ।

कहाँबाट कसरी जोडिन्छ ?
भारतले बिहारको बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पाइपलाइन सञ्चालन गरेको छ । पटना र मुगलसराय सेक्टरको बीचमा पर्ने बिहारकै सिवान भन्ने ठाउँमा ‘ट्याप अफ पोइन्ट’ बनाएर त्यहाँबाट एउटा लाइन भारत उत्तर प्रदेशको बैतालपुर र अर्को लाइन सिवानबाट मोतीहारी हुँदै अमलेखगञ्ज जोडिनेछ ।

पाइपको कुल लम्बाइ ७० किलोमिटर

नेपाल आउने पाइपलाइनको कुल लम्बाइ ६९.९ किलोमिटर छ । जसमध्ये नेपालतर्फ ३६.२ र भारततर्फ ३३.७ किलोमिट पर्छ । नेपालतर्फ १६ र भारततर्फ २४ किलोमिटरमा पाइप बिछ्याइसकिएको छ । आयोजनाको कुल लागत तीन अर्ब भारतीय रुपैयाँ हो । जसमध्ये भारतीय पक्षले दुई अर्ब र नेपाली पक्षले बाँकी खर्च गर्ने सहमति भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्