महेन्द्र बहुमुखी क्याम्पसको भवन निर्माणको लागि दुइ करोड



दाङ ८ कार्तिक ।  राप्ती क्षेत्रको पुरानो महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा बीबीए भवन निर्माणका लागि दुइ करोड रुपैयाँ स्वीकृत भएको छ । क्याम्पसमा यसै बर्षदेखि बीबीए कक्षा शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले दुइ करोड रुपैयाँको बजेट स्वीकृत गरेको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलका प्रमुख सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य जीवन गौतमले जानकारी दिनुभयो । उहाँले यसै आर्थिक बर्षबाट भवन निर्माणको काम शुरु हुने जानकारी दिनुभयो ।

क्याम्पससँगको समन्वयमा तत्काल बहुबर्षीय भवन निर्माणको डिजाइन गरिने र दुइ करोडको काम यसैबर्ष शुरु हुने नेता गौतमले जानकारी दिनुभयो । बाँकी रकम आगामी बर्षमा पार्ने गरी क्याम्पसमा अन्य संकाय सञ्चालनका लागि पनि पर्याप्त हुने गरी भवन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

 

निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजालले भवन निर्माणको बजेट परेकोमा खुशी व्यक्त गर्दै क्याम्पसबाट गर्नुपर्ने आवश्यक प्रक्रिया तत्काल शुरु गरिने बताउनुभयो । भवन डिजाइनलगायतका काममा क्याम्पसले तत्काल पहल लिने पनि उहाँले बताउनुभयो ।

जीवन गौतम शिक्षामन्त्रीको अवैतनिक प्रमुख सल्लााहकारमा नियुक्त भएपछि दाङको शैक्षिक क्षेत्रमा प्रगति देखिन थालेको छ । केही समयअघि मात्रै देशभरिका ९५ विद्यालयले सिटिइभीटीको कार्यक्रम पाउँदा दाङका १३ विद्यालयले पाएका थिए भने घोराहीमा कृष्णसेन इच्छुकस्मृति बहुप्राबिधिक शिक्षालय स्थापना भएर पठनपाठन शुरु भइसकेको छ ।

उहाँकै उहाँकै पहल नेपाल संस्कृत विश्वविद्यालयको काठमाडौंमा रहेको सम्पर्क कार्यालय र अनुसन्धान केन्द्र पनि दाङमा सारिएको छ । अन्य केही महत्वपूर्ण काम हुन बाँकी रहेको र त्यो पनि चाँडै हुने गौतमले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्