पीपीएल : चितवन राइनोजको पहिलो शानदार जीत, धनगढी ७६ मै अलआउट



काठमाडौं, १४ कार्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलोपटक शानदार जीत हासिल गरेको छ । पोखरा रंगशालामा भएको खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो ।

१९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६÷२ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो । धनगढीले सुरुदेखि नै विकेट गुमाएको थियो । शून्य रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटको रुपमा डेन लवारेन्सलाई पनि शून्य रनमै गुमाएको थियो । चौथो ओभरको चौथो बलमा टिमको स्कोर ७ रन हुँदा सन्दीप सुनारलाई गुमाएपछि दबावमा आएको थियो ।

धनगढीका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेका थिएनन् । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८ र दिलीपनाथ शून्य रनमै आउट भए । विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाउँदै इनिङ्सलाई सम्हाल्ने कोशिस गरेका थिए तर, उनी पनि भुवन कार्कीको बलमा क्याच आउट भए ।
त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाए ।

बलिङतर्फ चितवन राइनोजका लागि सन्नी पटेलले ४ विकेट लिए भने भुवन कार्की र स्मित पटेलले समान २÷२ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रहेको थियो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।

हरिशंकरले ५३ रन बनाए । अनिल ३७ रनमा आउट भए । सन्नी पटेल २६ रनमा अविजित रहँदा समिट पटेलले २४ रन जोडे । कप्तान पारस खड्काले १९ रन बनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्