विश्वकप प्याराग्लाइडिङ आजदेखि



स्याङ्जामा आजबाट प्याराग्लाइडिङ वल्र्डकप खेल शुरु हुँदैछ । स्याङ्जाको स्वरेक मैदान (भीरकोट) र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वल्र्डकप–२०१८ हुन लागेको हो ।

प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ ।  नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको पहिलो दिन बिहीबार अभ्यास खेल मात्र हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा महिला पुरुष दुवै इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीताकुमारी सुन्दासले जानकारी दिइन् ।

प्रतियोगितात्मक प्रतिष्पर्धा भने शुक्रबारदेखि मात्र हुनेछ । प्रतियोगीले एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाइट गर्नुपर्ने हुन्छ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ ।

प्रतियोगितामा २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाइलटहरुले सहभागिताको लागि नाम दर्ता गराइसकेको सुन्दासले जानकारी दिइन् । यसअघि ३० देशका पाइलटहरुले सहभागिता जनाउने भनिए पनि सबैले नाम दर्ता नगराएको बताइएको छ ।

यद्यपि, पाइलटहरुले नाम दर्ता गराउने क्रम जारी रहेको सुन्दासले बताइन् । प्रतियोगितामा एक सय ५० जनासम्मले प्रतिष्पर्धामा सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न प्याराग्लाइडिङको सर्वोच्च निकाय एफएआईका प्रतिनिधिहरुको ३ सदस्यीय टोलीसमेत स्याङ्जा आउने संयोजक राउतले बताए । उनका अनुसार एफएआईका प्रतिनिधि इण्डोनेसियाका उगा र मुनीर तथा मलेसियाका नादिया आउन लागेका हुन् ।

प्रतियोगितामा हुनसक्ने दुर्घट्नालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी पाइलटहरुको सुरक्षाका लागि रेस्क्यू टिम, एम्बुलेन्स र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरामा यसअघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाइडिङ र पोखरा तथा स्याङ्जाको स्वरेकमा प्री–वल्र्ड कप गरिएको थियो ।१८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो ।

जिल्ला समन्वय समित स्याङ्जाको सहयोगमा हुने प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक विजेताले १५ सय, रजत पदक विजेताले २ सय र काश्य पदक विजेताले ७ सय युरो प्राप्त गर्नेछन् ।

त्यस्तै, व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले १ हजार, रजत पदक विजेताले ७ सय ५० र काश्य पदक विजेताले ५ सय युरो प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संयोजक शैलेन्द्र राउतले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्