सैघाली खबर
साउन १६
सर्वोच्च अदालतले भरतपुर महानगरको १९ वडामा पुनः मतदान गर्न आदेश दिएपछि यसबारेमा आज निर्वाचन आयोगले छलफल गर्ने भएको छ । सर्वोच्चको आदेशपछि निर्वाचनको प्रक्रियालाई अघि बढाउने बारेमा आज फैसलाको पूर्ण पाठ हेरेर अगाडि बढ्ने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । झण्डै दुई महिना लामो सुनुवाइपछि हिजो न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने गरी मुद्दाको फैसला गरेको हो । भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो । विवादपछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदातासमेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते रिट दायर गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।