आगामी चुनावमा विद्युतीय मेसिनको प्रयोग गर्न आयोग परामर्शमा



सैघाली खबर
काठमाडौं साउन,१८


निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दलीय सहमती जुटे विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने तयारी गरेको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैपटक वा फरक मितिमा भन्ने विषयमा सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दल र आयोगको भिन्नभिन्न धारणा आइरहँदा आयोगले व्यवस्थापकीय सहजताका लागि भन्दै विद्युतीय मतदान यन्त्र प्रयोगका विषयमा छलफल सुरु गरेको हो। आयोगले निर्वाचन व्यवस्थापनमा सहज हुने र विगतका केही निर्वाचनमा समेत विद्युतीय मतदान यन्त्रको प्रयोगबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै आगामी निर्वाचनमा सो यन्त्रको प्रयोग गर्नेबारे मंगलबार संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदहरूसँग छलफल गरेको छ। आयोगका सचिव महेश्वर न्यौपानेले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रविधिको प्रयोग गरेर विद्युतीय मतदान गर्न सकिन्छ कि भनेर आयोगले संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदहरूलाई सो यन्त्रबारे जानकारी गराएको बताए। ‘हामीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा विद्युतीय यन्त्रको प्रयोग गर्न सक्छौं कि भनेर सांसदहरूलाई नै सोबारे जानकारी दिन बोेलाएका हौं, प्रविधिको प्रयोगबाट छोटो समयमा परिणाम आउने र विश्वसनीयतासमेत बढी हुने हुँदा हाम्रो अपेक्षा पनि मतदाता र उम्मेदवारलाई सजिलो होस् र परिणाम पनि छिटो आओस् भन्ने हो,’ सचिव न्यौपानेले भने। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनको सम्पूर्ण प्रक्रियालाई शुद्ध, सरल तथा छिटो छरितो सम्पन्न गर्न प्रविधिको प्रयोगले निर्वाचन व्यवस्थापनमा सहजता हुने विगतको प्रयोगबाट प्रमाणित भएको भन्दै संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदहरूसँग छलफल गरेको बताए। ‘निकट भविष्यमा प्रविधिलाई प्रयोग गर्न सकौं भन्ने ध्येयका साथ आयोगले संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदहरूलाई छलफलका लागि बोलाएको हो, हामीले छिमेकी मुलुक भारत र युरोपमा निर्वाचनमा प्रयोग गर्ने गरिएको र संविधानसभा निर्वाचनमा केही स्थानमा प्रयोग भएको मेसिनका विषयमा समेत जानकारी दियौं,’ प्रवक्ता शर्माले भने। आयोगले छलफलमा सहभागी सांसदहरूलाई विद्युतीय यन्त्रबाट नमुना मतदानसमेत गराएको छ। सांसदहरूले विद्युतीय मतदान प्रक्रिया अपनाइए सहज रूपमा छोटो समयमा परिणाम आउने र निर्वाचन धाँधलीरहित हुने तथा मत बदर हुने अवस्थाको समेत अन्त्य हुने भन्दै सो प्रविधिको प्रयोग आवश्यक रहेको औंल्याएका छन्। कार्यक्रममा भारतको निर्वाचन आयोगले प्रयोगमा ल्याएको इलेक्ट्रोनिक भोटिङ मेसिन र बेलायतस्थित स्मार्ट मेट्रिक कम्पनीले उत्पादन गरेको इलेक्ट्रोनिक भोटिङ मेसिनका विशेषताको बारेमा छुट्टाछुट्टै प्रस्तुतीकरण गरिएको आयोगले जनाएको छ। आयोगले प्राविधिकतर्फका सहसचिव लक्ष्मीप्रसाद यादव र अर्का सहसचिव नवराज ढकालसहितको एक टोलीलाई दुई साताअघि मात्र विद्युतीय मतदान यन्त्रबारे अध्ययन गर्न छिमेकी मुलुक भारत पठाएको थियो। अध्ययन टोलीले मतदानमा भोटिङ मेसिनको प्रयोग उपयुक्त हुने प्रतिवेदनसमेत आयोगमा बुझाएको छ। २०६४ सालको संविधानसभा निर्वाचनपछि ६५ सालमा भएको उपनिर्वाचन तथा २०७० सालपछिको उपनिर्वाचनमा पनि विद्युतीय मतदान यन्त्रको प्रयोग गरेको र मतपरिणामसमेत छिटो आएको भन्दै आयोगले सहभागी दलका सांसदहरूलाई सो विषयमा ध्यान केन्द्रित गराएको छ। आयोगले विगतमा भएका संविधानसभा निर्वाचनका क्रममा काठमाडौंको क्षेत्र नम्बर १ सहित देशभरका १२ निर्वाचन क्षेत्रमा सो किसिमको यन्त्रको प्रयोग गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्