प्रदर्शनका क्रममा विपक्षी दलका शिर्ष नेता पक्राउ



सुडानको प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि विपक्षी दलका शिर्ष नेतालाई नै पक्राउ गरेको छ ।

मूल्यवृद्धिको विरुद्धमा यही डिसेम्बर १९ देखि सुरु भएको प्रदर्शनका क्रममा शिर्ष नेतालाई नै पक्राउ गरेपछि प्रदर्शनकारीहरु थप आक्रोसित भएका हुन् ।

प्रदर्शनकारीले राजधानी खार्तुमसहित देशभरका विभिन्न ठाँउमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा हजारौँ सहभागी भएका छन् । उनीहरुले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् ।

प्रदर्शनका क्रममा अहिलेसम्म १९ जना मारिएका र अरु हजारौँ घाइते भएका प्रदर्शनकारीले जनाएका छन् ।

घटनाका बारेमा अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न संयुक्त राष्ट्रसंघले पनि शुक्रबार आह्वान गरेको छ ।

सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा १८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभयो ।

उत्तर अफ्रिकी राष्ट्र सुडानमा गत साता राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी ९एनसीपी० को मुख्यालयमा आगजनी गरेपछि कफ्र्युसमेत लगाइएको थियो ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ ।

मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ । एएफपी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्