अब सपनाको भिडियो रेकर्ड हुने



सपनाको संसार निकै रहस्यमय हुन्छ । राम्रा र नराम्रा सपनाको विषयमा धेरै किसिमका मान्यताहरु पनि छन् । धेरैजसो हामीले देखेका सपनाहरु छिटै बिर्सिन्छौं ।

तर अब छिटै यस्तो प्रविधि आउँदैछ जसको प्रयोग गरेर हामीले त्यही सपना रेकर्ड गरेर भिडियो हेर्न सक्छौं । जापानी वैज्ञानिकहरुले यस्तो यन्त्र बनाएका छन् जसले हाम्रो सपना रेकर्ड गर्न सक्छ । जर्नल साइन्सका अनुसार जापानी वैज्ञानिकहरुको टिमले यो रोचक र रहस्यमय विषयमा विगत १० वर्षदेखि अनुसन्धान गरिरहेको छ ।

केही वर्ष पहिले यस्तो मेसिन बनाइएको थियो जसले दिमागको सिग्नलको आधारमा कुनै पनि मानिसले सपनामा के देखिरहेको छ भन्ने पत्ता लगाउन सक्थ्यो । हामीले सपना देख्दा हाम्रो दिमागमा ‘न्यूरल प्याट्रन’ बन्छन् । यो न्यूरोनको क्रियाका कारण हुन्छ । दिमाग सक्रिय हुँदा न्यूरोनले दिमागलाई संकेत पठाउँछन् ।

सपनाका बेला पनि हाम्रा केही न्यूरोन सक्रिय हुने मानिएको छ । एक कम्प्युटर प्रोग्रामिङको सहयोगले दिमागमा बनेका न्यूरल प्याट्रनलाई बुझ्न सकिन्छ । अनुसन्धानका अनुसार हामीले कुनै पनि कुरा देख्दा दिमागमा खास किसिमको न्यूरल प्याट्रन बन्छ । यो प्याट्रनबाट हामीले व्यक्तिले के देखिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

अहिले वैज्ञानिकले बनाएको मेसिनले त्यही प्याट्रन बुझेर त्यहीअनुसारको दृश्य बनाइ त्यसलाई रेकर्ड गर्न सक्छ । यसले कतिसम्म सटिक काम गर्न सक्छ भन्ने विषयमा अनुसन्धान जारी छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्