मलेसियाको रोजगारदाता(कम्पनी)हरुले विदेशी कामदारहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा संस्था (SOCSO ) मा दर्ता गराउनु पर्ने नयाँ नियम लागु हुने भएको छ ।
अहिले विदेशी श्रमिक क्षतिपूर्ति योजना (FWCS) अन्तर्गत रहेकोमा सन् २०१९ जनवरी १ देखि विदेशी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्व गर्ने नयाँ व्यवस्था मलेसिया सरकारले लागु गर्ने तयारी गरेको मलेसिया स्थित नेपाली राजदूतावासले जनाएको छ ।
यो नियम लागु भएसंगै रोजगारदाताले सामाजिक सुरक्षा बापत श्रमिकको मासिक न्युनतम पारिश्रमिकको १.२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्नेछ । यो रकम कामदारले तिर्नुनपर्ने साथै रोजगारदाताले कामदारको तलबबाट कटाउन पनि नपाउने व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा संस्था मार्फत दर्ता भएका कामदारहरुले स्वास्थ्य उपचार, स्थायी तथा अस्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ता तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनस् स्थापना सुविधा प्राप्त गर्ने राजदूतावासले जनाएको छ।
यो सुविधा मलेसियामा बैधानिक रुपमा बसेका कामदारहरुले मात्र प्राप्त गर्न सक्ने जनाइएको छ । मलेसियामा हाल कार्यरत नेपाली कामदार तथा मलेसिया जाने तयारीमा रहेकाहरुले आ–आफ्नो रोजगारदातासंग सम्पर्क गरि आफुलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन मलेसिया स्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।