जसले अमेरिकाको सुरक्षाको धज्जी उडाउँदै २ करोड लुटेर उडिरहेको विमानबाट गायब भए



सिएटल। संसारमा कैयौं रहस्यमय व्यक्तिहरु छन् । यीमध्येका डीबी कूपर नामका व्यक्ति एक यस्ता रहस्य हुन् जसलाई बुझ्न पुलिससहित कैयौं अनुसन्धान एजेन्सीले आफ्नो ४८ पर्षको समय खर्च गरिसकेका छन् । १९७१ मा डीबी कूपरले अमेरिकाको सुरक्षाको धज्जी उडाउँदै उडिरहेको विमानमा २ लाख डलर लुटेका थिए र उडिरहेको विमानबाटै गायब भएका थिए । ४८ वर्षपछि अहिलेसम्म पनि पुलिस र जाँच एजेन्सीले कूपरलाई खोजिरहेका छन् । यही कारण उनलाई इतिहासकै सबैभन्दा रहस्यमय मानिस भनिन्छ ।

यो घटना २४ नोभेम्बर १९७१ को हो । आफ्नो योजनाअनुसार कूपर पोर्टल्याण्ड एयरपोर्ट पुगे । आफ्नो हातमा कालो ब्याग लिएका कूपर टिकट काउन्टरतिर गए । उनले २० डलर दिएर विमानको टिकट लिए । त्यहाँ उनले आफ्नो नाम डेन कूपर बताएका थिए । यो ाम वास्तविक हो कि होइन भन्ने समेत कसैलाई थाहा छैन । उनले सिएटल जाने विमानको टिकट लिए र काउन्टरबाट विमानतर्फ गए । उनी एयरहोस्टेसलाई टिकट देखाएर विमान बोइङ ७२७ मा गए ।

त्यतिबेला अमेरिकाका एयरपोर्टमा खासै सुरक्षा जाँच हुँदैनथ्यो । त्यस दिन कूपरले विमानको पछिल्लो भागमा सिट पाएका थिए जुन उनको योजनाको लागि उपयुक्त थियो । कूपरले आफ्नो ब्याग आफैंसँग राखेका थिए । पोर्टल्याण्डबाट सिएटलको दूरी ३० मिनेटको थियो । कूपरले तत्कालै डरको खेल सुरु गरे । उनले नजिकै बसेकी एयरहोस्टेसलाई एउटा चिठी दिए । एयरहोस्टेसले कागज खोलेर हेर्दा उनको होस उड्यो । लेखिएको थियो ‘मसँग बम छ । मसँग आएर बस्नू र म जे भन्छु त्यही गर्नू ।’

यो पढेपछि उनले यो कुरा अर्की एयरहोस्टेसलाई बताइन् । दुवै कूपरको नजिक गए । कूपरले ब्याग खोलेर देखाए जहाँ एक बम थियो । कूपरले उनीहरुलाई सबै शर्त बताए । उनले विमान नजिकैको एयरपोर्टमा ल्याण्ड गर्न भने । त्यहाँ विमानमा पुनः इन्धन भर्न भने साथमा उनले २ लाख डलर र ४ प्यारासुट पनि मागे । माग सुनेपछि पाइलटले सिएटलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सबै कुरा बताइ ल्याण्ड गर्ने तयारी गरे ।

तुरुन्तै अमेरिकी जाँच एजेन्सी एफबीआइका जवान सिएटल एयरपोर्ट पुगे । एफबिआइले चलाखी गर्दै लगातार नम्बरको सिरिज भएका २ लाख डलरका नोट मगाए । जानीजानी नोटहरु कम दरका राखियो ताकि नोटको संख्या धेरै हुँदा ब्यागको तौल बढी भएर उनलाई भाग्न समस्या होस् । पैसा र प्यारासुट कूपरसम्म पुगिसकेको थियो, विमानमा इन्धन भरिइसकेको थियो । शर्तअनुसार कूपरले सबै यात्रु बाहिर निकाले । पाइलट र एयरहोस्टेसहरुलाई मात्रै विमानमा राखेर पुनः विमान उडाउन लगाए ।

कूपरले पाइलटलाई विमान लिएर मेक्सिको जान भने र विमानलाई कम स्पिडमा उडाउन भने । कूपरलाई थाहा थियो कि अमेरिकी एयरफोर्स र एफबीआइले उनलाई छोड्ने छैनन् । त्यसैले बच्नको लागि उनले छुट्टै योजना बनाएका थिए । विमान उडिरहेकै बेला कूपरले सबै एयरहोस्टेसलाई पनि ककपिटमा जान भने । सबैलाई ककपिटभित्र पठाएपछि कूपरले भित्रबाट ढोका लगाउन भने । पाइलट र एयरहोस्टेस डराएर ककपिटभित्रै बसे ।

अचानक विमान हल्लिन लागेपछि ककपिटमा थुनिएकाहरु आत्तिए । विमानमा हावाको दबाब कम भएको थियो । पाइलटले सिस्टममा हेर्दा विमानको एउटा ढोका खुला थियो र कूपर त्यहाँ थिएनन् । उनले तत्काल विमानको ढोका बन्द गरे अनि पूरै विमानभरी खोजे तर कूपर त्यहाँ थिएनन् । उनी हावामै विमानबाट हाम्फालिसकेका थिए । विमान फर्किएर एयरपोर्ट पुग्यो । विमान ल्याण्ड गर्नासाथ सुरक्षाकर्मीले घेरा हाले तर कूपर त्यहाँ थिएनन् ।

तत्काल कूपरको खोजी सुरु गरियो । पूरै अमेरिकामा उनलाई खोज्ने कोसिस गरियोतर कूपर कहीँ भेटिएनन् । कूपरलाई दिइएका नोट पनि अहिलेसम्म भेटिएका छैनन् । कूपरका बारेमा अनेक हल्लाहरु चले तर कूपर ४८ वर्ष बितिसक्दा अहिलेसम्म पनि भेटिएका छैनन् । जाँच एजेन्सीहरुले उनको फाइल त बन्द गरे तर कूपर अहिले पनि अमेरिकाको मोस्ट वान्टेड लिस्टमा कायमै छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्