पेट्रोल बोक्ने ट्यांकरमा रोक लगाएपछि महासंघद्वारा आन्दोलनको घोषणा



विराटनगर । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भारतको बरौनी डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकरमा नेपाल आयल निगमले रोक लगाएपछि आन्दोलनको घोषणा गरेको छ।

आयल निगमले १३ वटा ट्यांकरमाथि ढुवानी गर्न रोक लगाएको छ। महासंघले घोषणा गरेको आन्दोलनमा पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले पनि सहमति जनाएको छ। निगमको प्रदेश नम्बर एक कार्यालय विराटनगरबाट संचालनमा रहेका १३ वटा ट्यांकरलाई तीन महिना ढुवानीमा रोक लगाइएसँगै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन्।

नियम विपरीत लगाइएको प्रतिबन्ध फुकुवा नभए आगामी सोमबारबाट ढुवानी ठप्प पारेर देशव्यापी हड्ताल गरिने चेतावनी पेट्रोलियम ढुवानी व्यवसायीले दिएका छन्।

महासंघको पूर्व घोषित कार्यक्रमलाई समर्थन गर्दै प्रदेश नम्बर एकमा पूर्वाञ्चल ढुवानी व्यवसायी संघका उपाध्यक्ष धु्रबप्रसाद सिग्देलको संयोजकत्वमा १२ सदस्यीय आन्दोलन समिति गठन गरिएको छ। निगमले ढुवानीकर्ता सुखदेव सिंहले सञ्चालन गरेका १३ वटा ट्यांकरलाई पुसबाट लागू हुने गरी ढुवानीमा प्रतिबन्ध लगाउँदै प्रोडक्ट डेलिभरी अर्डर ९पीडीओ० नदिएको हो।

सिंहले सञ्चालन गरेका को १ ख ५९४१, ५९४२, ५९४३, ५९६५, ६९३०, ६९३४, ५९६८, ५९४१, ६०५०, ५९७०, ना ३ ख ९६३३, ना ४ ख १९६४ र २९७१ नम्बरको ट्यांकरलाई निगमले ढुवानीमा प्रतिबन्ध लगाएको थियो । नियम मिचेर प्रतिबन्ध लगाइएको भन्दै ढुवानी व्यवसायी र मजदुर आक्रोशित बनेका छन्। उनीहरुले तत्काल पीडीओ नदिए आगामी सोमबारबाट नेपालभर इन्धन ढुवानी ठप्प पार्दै ट्यांकरका चाबी निगमलाई बुझाएर आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

भारतको बरौनी डिपोदेखि नेपाल आयल निगमको विराटनगर डिपोसम्म ढुवानी गर्ने क्रममा गत मंसिर ६ गते सिंहले सञ्चालन गरेको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट लक लागेकै अवस्थामा दुई हजार चार सय ८४ लिटर डिजेल चोरी भएको थियो। त्यसपछि सिंहले सञ्चालन गरेका सबै ट्यांकरलाई निगमले इन्धन ढुवानीमा तीन महिना रोक लगाएको हो।

लक लागेकै अवस्थामा डिजेल चोरी भएको ट्यांकरलाई भने अबदेखि कहिल्यै ढुवानीमै प्रयोग गर्न नपाउने गरी निगमको बोर्ड बैठकले खारेज गरिदिइसकेको छ। ढुवानीकर्तालाई दोब्बर जरिवाना गर्दै चालक धर्मेन्द्र स्वर्णकारलाई ६ महिना सम्म निगमको विराटनगर डिपो प्रवेशमा रोक लगाइएको छ। निगमले यस घटनाको छानबिन गरेको थियो । तर, हालसम्म छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छैन।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले एउटा ट्यांकरले काम बिराउँदा अन्यलाई पनि कारबाहीको दायरामा ल्याउनु गलत भएको जनाएको छ। महासंघका अनुसार डिजेल चोरीमा संलग्न ट्यांकरलाई पनि तीन महिनासम्म मात्रै ढुवानीमा रोक लगाउन पाउने नियम छ।

महासंघले ट्यांकरबाट हुने इन्धन चोरी नियन्त्रण गर्न निगमले सेक्यूरिटी लकिङ प्रणाली जडान गरेपछि आफूहरुले पनि समर्थन गरेको जनाउँदै घटनाको छानबिनका लागि व्यवसायी प्रतिनिधि रहेको निष्पक्ष समिति गठन गर्नु पर्ने माग राख्दै आएको छ।

त्यसैगरी, नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव आचार्यले ढुवानी व्यवसायीले घोषणा गरेको आन्दोलनमा मजदुरहरुले पनि सहमति जनाएको बताएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्