श्रीपेच सार्वजनिकपछि ह्वात्तै बढे पर्यटक



गत असोज २९ गते राजाहरुले मात्र लगाउने श्रीपेच सार्वजनिक गरियो। राजाले आफ्नो सिंहासनमा बसेका बेलामा लगाउने श्रीपेच दरवार नै सार्वजनिक गरेको १० वर्ष पछि मात्र सार्वजनिक गरिएको हो। श्रीपेच सार्वजनिक गरिएसँगै १० वटा कोठाहरु पनि सर्वसाधारणका लागि खुला गरिएको हो।

हाल नारायणहिटी दरबार संग्रहालयमा २९ कोठाहरु सार्वजनिक गरिएको छन्।  विशेष सुरक्षाका साथ बुलेट पु्रफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ।

तत्कालीन राजाहरुले पहिरिने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा छन्। श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने अष्ट्रेलियाबाट ल्याएको ‘वर्ड अफ प्याराडाइज’ नामक चराको पुच्छर हो।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ। राजदण्ड र चमरमा भने सुनैसुन छ। राजदण्ड ५९ तोला सुनले बनेको हो। नेपालका शाह बंशीय राजा मध्येका अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच छोडेको १०/१२ वर्षपछि श्रीपेच सार्वजनिक गरिएको हो।

श्रीपेच सार्वजनिक भएदेखि नारायणहिटी दरबार संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको दिनानुदिन घुँईचो लाग्ने गरेको छ। राजतन्त्र समाप्तिपछि पनि ज्ञानेन्द्र शाहले सरकारलाई श्रीपेच हस्तान्तरण गर्न चाहेका थिएनन्। तर, सरकारले श्रीपेच राज्यको सम्पति भएको हुँदा व्यक्तिगत रुपमा कसैले निजीकरण गर्न नपाइने चेतावनी दिएपछि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा सुरक्षित राखिएको छ। गत असोज २९ गते श्रीपेच सार्वजनिक गरेपछि ३७ प्रतिशतले पर्यटक बढेका छन्। चालू आर्थिक वर्षको पहिलो ३ महिना (साउन, भदौ र असोज) मा ५१ हजार १ सय ८१ जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका थिए।

पहिलो तीन महिनमा उठेको राजश्व ४९ लाख २९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ। जुन टिकट बिक्रीबाट र सवारी साधन पाकिङ्गबाट उठेको रकम हो। श्रीपेच खुला गरेको २ महिना (कार्तिक र मंसिर) मा मात्रै नारायणहिटी दरबार संग्रहालयमा ७० हजार १ सय पाँच जनाले अवलोकन गरेका छन्।

श्रीपेचपछिको २ महिनामा मात्रै टिकट बिक्री र सवारी पार्किङ्ग शुल्क बाफत ६३ लाख ८८ हजार ७ सय ७५ रुपैयाँ राजश्व संकलन भएको नारायणहिटी दरबार संग्रहालयकी शाखा अधिकृत ज्योति केसीले बताइन्।

नारायणहिटी दरबार संग्रहालयमा प्रवेशका लागि नेपाली सर्वसाधारणलाई १ सय, नेपाली विद्यार्थीलाई २०, सार्क मुलुक तथा चीनका नागरिकको लागि २ सय ५० र विदेशी नागरिकलाई ५ सय रुपैयाँको टिकट शुल्क तोकिएको छ।

नेपालको राजाहरूको १३५ वर्षसम्म निवासस्थानको रूपमा नारायणहिटी दरबार नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै २०६५ असार १ गते राजदरबारबाट राष्ट्रिय सङ्ग्रहालयको रुपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घोषणा गरेका थिए।

त्यसपछिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले २०६५ फागुन १ गते संग्रहालयलाई सर्वसाधारणको लागि खुल्ला गराएका थिए। ७५३ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयमा दरबारले मात्र ३१८ रोपनी क्षेत्रफल ओगटेको छ। करिब ५१ कोठाहरु रहेको उक्त संग्रहालयमा हालसम्म २९ वटा कोठाहरु मात्र खुल्ला गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्