बस दुर्घटना अपडेट – मृतकको संख्या सात पुग्यो ,३१ घाइतेको उपचार हुँदै



पर्वतमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस बिहीबार बिहान पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गामा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङले ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि, उनीहरुको सनाखत हुन भने बाँकी छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । गम्भीर घाइते दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्