प्रधानमन्त्री देउवाप्रभावित क्षेत्रमा अनुगमनमा जाने



सैघाली खबर
काठमाडौं,३० साउन

बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अनुगमनका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी, महोत्तरीलगायत जिल्ला जानुहुने भएको छ । सञ्चारमन्त्री मोहन बहादुर बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रहरुमा गएर प्रभावितहरुको अवस्थाबारे पनि जानकारी लिने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि थप राहतको प्याकेज घोषणा हुने बताइएको छ । यस्तै राजनीतिक दलहरुले पनि बाढी पीडितको उद्धार र राहत वितरणका लागि अग्रसरता देखाएका छन् । नेपाली कांग्रेसका सम्पूर्ण सांसदहरुले एक महिनाको तलब बाढी पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितीको बैठकले यस्तो निर्णय गरेको नेता बालकृष्ण खाँडले सीआईएनलाई जानकारी दिनुभयो । नेकपा एमालेले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी उद्धार र राहत वितरण गर्न सरकारसँग माग गरेको छ ।
एमाले उपाध्यक्ष भीम रावलले संकटको यस घडीमा बाढी पहिरो पीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रूपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गरिएको सीआईएनसँग बताउनुभयो । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वक्तव्य जारी गर्दै राज्यको सम्पूर्ण शक्ति प्रयोग गरि पीडितको उद्धारमा लाग्न सरकारलाई आग्रह गर्नुभएको थियो । साथै उहाँले पार्टीको सिंगो तहलाई उद्धार र राहतमा लाग्न निर्देशन दिनुभएको थियो । तराई मधेस केन्द्रित दलका नेताहरुले समेत आफ्ना कार्यकर्तालाई बाढी पीडितको उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्